काठमाडौं। मकवानपुरको हेटौँडाबाट अपहरणमा परेका २ जना युवकको भारतबाट सकुशल उद्धार गरिएको छ। भदौ ३ गते राति हेटौँडाबाट अपहरणमा परेका युवकको भारतीय राज्य बिहारको मोतिहारीबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
हेटौँडा उपमहानगरपालिका–९ स्वागतटोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र सोही ठाउँका २२ वर्षीय पवन रानामगर अपहरणमा परेका थिए। प्रहरीका अनुसार उनीहरुलाई साउन ३ गते राति साढे ९ बजेतिर ३ जना भारतीयले हेटौँडा बसपार्कबाट अपहरण गरेका थिए।
हेटौँडा बसपार्कबाट भारत मोतिहारी पुर्याइ बन्धक बनाएर राखिएको थियो। २ जनालाई भारत पुर्याइ बन्धक बनाएर अपहरणकारीले ५ लाख भारु फिरौती मागेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
आफन्तले दिएको सूचनाको आधारमा भारतीय प्रहरी समेतको सहयोगमा २ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
शनिबार राति १२ बजे उद्धार गरिएका दुवै युवकलाई हेटौँडा ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। अपहरणमा संलग्न व्यक्ति भने फरार छन्। प्रहरीले उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ।