काठमाडौं । सरकारले अफगानिस्थानबाट मंगलबार आइपुगेका १२७ जनालाई खरिपाटीको होल्डिङ सेन्टरमा पठाएको छ । उनीहरूलाई कम्तीमा १० दिन त्यहाँ राखेर घर पठाउने सरकारको तयारी छ ।
गृहमन्त्रीको सचिवालयका अनुसार उनीहरूको त्यहाँ रहँदाको खाने बस्ने खर्च सरकारले नै ब्यहोर्ने छ । अफगानिस्थान विद्रोही तालिबानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपालीहरू जोखिममा परेका थिए । सर्वत्र उद्धारको माग हुन थालेपछि सरकारले सोमबार बिहान त्यहाँ रहेका नेपालीहरूको सकुशल उद्धार गर्ने निर्णय गरेकाे थियो ।
हिजै गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित चावटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रूपमा उद्धार गर्न निर्देशन दिएका थिए ।
सरकारले यसअघि आएकाहरूलाई होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने निर्णय नगरेका कारण यसअघि आएका १६५ जना भने सिधै आ–आफ्नो घर गइसकेका छन् ।