चितवन। उद्योग वाणिज्य संघ–चितवनले बाग्लुङ्ग उद्योग वाणिज्य संघका महिला उद्यमी समितिको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज स्वागत गरेको छ । बाग्लुङ्ग उद्योग वाणिज्य संघका महिला उद्यमी समितिका अध्यक्ष भगवती केसीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो ।
नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरूका साथै छिमेकी मुलुक भारतको सिक्किमसम्मको अध्ययन अवलोकन गरेर फर्किने सन्दर्भमा उद्योग वाणिज्य संघ–चितवन टोली आएको हो ।
स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यावसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमासमेत सहयोग पु¥याउने बताउनुभयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिदै अध्यक्ष श्रेष्ठले यस संघले महिला उधमशिलता विकासका लागि विभिन्न सिप विकास सम्बन्धी तालिमहरु दिदै आईरहेको र सरकारले समेत महिला उद्यमीहरुलाई प्रवर्धनमा ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बाग्लुङ्ग उद्योग वाणिज्य संघ महिला उद्यमी समितिका अध्यक्ष भगवती केसीले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै व्यावसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनको महिला उद्यमी समितिसग संगसंगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताउदै बाग्लुङ्गमा उत्पादित घरेलु उत्पादनलाई बजारीकरणका लागि समेत सहयोगको अपेक्षा गर्नुभयो ।
उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले संघका विगतदेखि वर्तमानसम्मका गतिविधि लगायत आगामी कार्यक्रमहरूको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवं तालिम संयोजक योगिता पियाले बाग्लुङ्ग उद्योग वाणिज्य संघ महिला उद्यमी समितिलाई स्वागत गर्दै यहिं पौष २५ गते देखि माघ ४ गते सम्म चितवन महोत्सव २०७९ आयोजना गर्न लागिएको र त्यस ठाउको उत्पादित बस्तुको बजारीकरणको लागि महोत्सव राम्रो अवसर हुने भएकाले महोत्सव आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, संघका कार्यसमिति सदस्यहरू एवं महिला उद्यमी समितिका सदस्यहरुको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभयो ।
टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । कार्यक्रम उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवं महिला उद्यमी समितिका संयोजक पुर्णिमा श्रेष्ठले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।

