काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । १२ जना घाइते छन् ।
दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो । काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज बिहान करिब सवा ४ बजे उनको मृत्यु भएको जनाइएको छ ।
घाइतेमध्ये बसका चालक भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ का ३८ वर्षीय विजय प्रजापति, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की १८ वर्षीया सोनु कुलुङ र कास्कीको पोखराका ४८ वर्षीय डिबी गुरुङको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये तीनजनाको गल्छीस्थित बूढीगण्डकी अस्पतालमा र अरू नौजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ट्राफिक प्रहरीका अनुसार पृथ्वी लोकमार्गमा दुई विपरीत दिशाबाट चलिरहेका बा३ख ४०१४ नम्बरको बस र भारतीय नम्बरको ट्रक गए राति करिब २ बजे आपसमा ठोक्किएका थिए ।