चितवन। नारायणी नदीमा तटबन्धनको काम शुरु भएको छ । विगत १० वर्षदेखि थालिएपनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकोमा ठूलो रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिंदै छ । असार अघि नै बोलपत्र आव्हान भई सम्झौता भएका तीन वटा खण्ड मध्ये एउटा खण्डको काम थालिएको छ । अन्य दुई खण्डमा छिट्टै काम शुरु गरिंदै छ ।
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शंकर बुढाथोकीका अनुसार अर्काे एक खण्डको बोलपत्र आव्हान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्काे एक खण्डको बोलपत्र आव्हान भई मूल्यांकन भईरहेको छ । असार अघि नारायणी नदीको महानगरतर्फ सिसईदेखि भगडीसम्मको तटबन्धनका लागि रु.३८ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसैबेलाको अर्काे एक खण्ड गाँजीपुरदेखि हिरापुरसम्मको रु.४८ करोडमा ठेक्का सम्झौता भएको छ ।
तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु.१ अर्ब १५ करोडमा ठेक्का सम्झौता भईसकेको छ । तेस्रो खण्डको काम शुरु गरिएको छ । बुढाथोकीले अन्य दुई खण्डको काम छिट्टै शुरु हुने बताउनुभयो । सम्झौता भईसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाईका दरले रहेका छन् । कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको सात किलोमिटर मध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ । जसका लागि रु.२३ करोडमा यसै महिना ठेक्का सम्झौता भएको हो ।
नारायणी नदी नाराायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आव्हान भई मूल्यांकनको चरणमा रहेको छ । नारायणी किनारको जंगलको क्षेत्र बाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाईएको हो । बहुवर्षिय आयोजनाका रुपमा काम अघि बढाईएको छ ।
बिगत १० वर्ष देखि तटवन्ध थालिए पनि वजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटवन्धनमा एकै पटक रु ५ अर्बको काम अघि बढाईएको हो । जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवै तर्फ यस बजेटबाट काम हुँदैछ । आर्थिक वर्ष २०६६/०६७ बाट निरन्तर काम भईरहे पनि हाल सम्म रु १ अर्ब ८३ करोड मात्र बिनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन ।
चितवन तर्फ ३५ किलोमिटर र नवलपरासी तर्फ ५७ किलोमिटर तटवन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु ९ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हाल सम्म चितवन तर्फ १५ किलो मिटर र नवलपरासी तर्फ ११ किलोमिटर तटवन्ध गरि सकिएको छ ।
गुरुयोजना अनुसार नदी तटवन्ध गरिदैं गर्दा १ लाख ९८ हजार ६ जना प्रत्यक्ष रुपबाट लाभान्वित हुने छन् । १४ हजार १९ हेक्टर जमिन डुवानबाट बच्ने छ भने कम्तिमा ८० हेक्टर जमिन संरक्षण गरि उपयोगमा ल्याउन सकिने छ । नारायणी नदीमा धेरै वाढी आउँदा १४ हजार ४ सय ३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको छ । यो क्षेत्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यस अघि निर्वाचित भएको क्षेत्र एवं गृह नगर हो । यो नगरमा प्रमुख दाहालकै छोरी रेनु दाहाल हुनुहुन्छ ।
वर्षातको समयमा नदी कटान धेरै भएपछि दाहाल प्रमुख भए यता विगत पाँच वर्षदेखि नदी तटबन्धनको मुख्य एजेण्डा लिएर आउनु भएको थियो । यसै एजेण्डा अध्यक्ष दाहालले पनि प्राथमिकतामा राख्नु भएको थियो । सरकारका मन्त्री, सचिव र सम्बन्धित विभागका महानिर्देशकहरुको उपस्थितिमा भरतपुर महानगरपालिकाले यो आयोजनालाई प्राथमिकतामा राखेर कार्यक्रम समेत गरेको थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटवन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण ठूलो बजेट परेको बताउनुभयो । यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उहाँको भनाई छ ।

