हेटौंडा। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले भित्ते लेखन अभियान शुरू गरेको छ ।
नेकपाले दलाल पुँजीवादी सत्ताले नेपाली जनताको चाहना विपरीत जबरजस्ती निर्वाचन थोपरेर चुनाव गराउन लागेको भन्दै हेटौंडाका विभिन्न क्षेत्र र कैलास गाउँपालिकामा संघ र प्रदेशसभा निर्वाचन खारेज गरौ भन्दै भित्तामा लेखेर विरोध जनाएको छ ।
नेकपा मकवानपुरका एक नेताले भने, ‘हामीले यो निर्वाचन बहिष्कार गरेका छौं । यो निर्वाचन देश र जनता दुवैको लागि हितकर छैन । देशको ढुकुटी सिध्याउने र नेता मोटाउनेबाहेक अन्य केही हुँदैन ।’
ती नेताले आगामी दिनमा विरोधका कार्यक्रमलाई झनै सशक्त बनाउँदै लैजाने बताए । अन्य कार्यक्रमहरू स्वरूप पर्चा वितरण, मसाल जुलुस लगायत कार्यक्रमहरू समेत रहेका उनले बताए ।

