चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ हर्नरी निवासी अन्दाजी ६५ वर्षीय भदै महत्तोको बाघले खाएको अवस्थामा हाडखोर फेला परेको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनको इचर्नी पोस्ट नजिकै रहेको कंक्रिट टावर नजिकै महत्तोको हाडखोर भेटिएको हो ।
महत्तो यही साउन २५ गते नजिकै रहेको कुमरोज सामुदायिक वनमा घाँस काट्न भनी घरबाट निस्किएका थिए । सामुदायिक वनमा घाँस काट्न गएका महत्तो बेलुकासम्म घर नफर्केपछि परिवारले नजिकै रहेको कुमरोज सामुदायिक वनमा खबर गरेका थिए ।
महत्तो हराएको खबर पाएलगत्तै युनाइटन हात्ती सञ्चालन सहकारी संस्था लि सौराहाको हात्ती र चितवन राष्ट्रिय निकुञ्जको करिब ३० वटा हात्तीले केही दिनदेखि उनको खोजी गरेको थियो ।
खोजी गर्ने क्रममा शुक्रबार महत्तोले लगाएको चप्पल र टोपी भेटिएको थियो भने आज (शनिवार) उनले लगाएको कट्टु च्यातिएको अवस्थामा फेला परेको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले कपडाको साथमा मानव शरीरका हाडका टुक्रा पनि फेला परेको बताए । उनले कपडाको आधारमा परिवारको सदस्यद्वारा पहिचान भएको र भेटिएको हाडखोर महत्तोकोनै भएको जानकारी दिए ।
त्यस्तै गत असार ७ गते पनि सो वनबाट करिब ८ किलोमिटर टाँढा उत्तर पश्चिममा रहेको जनकौली सामुदायिक वनमा रत्ननगर नगरपालिका–५ बस्ने ३५ वर्षीया गीता अधिकारीको बाघले खाएकै अवस्थामा शव फेला परेको थियो ।