चितवन । उद्योग वाणिज्य संघ–चितवनका सदस्य व्यवसायीलाई नारायणी सामुदायिक हस्पिटल भरतपुरले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ ।
उद्योग वाणिज्य संघ–चितवन र हस्पिटलवीच आज छुट दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्तर्गत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले बताएका छन् ।
स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने नारायणी सामुदायिक हस्पिटल प्रति आभार व्यक्त गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रमममा नारायणी सामुदायीक हस्पिटलका प्रशासकिय अधिकृत अरुण लम्सालले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउंदा खुशी लागेको बताउंदै आगामी दिनहरुमा पनि यस किसिमका छुट उपलब्ध गराउंदै लैजाने बताए ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरुले संघबाट छुटको परिचय पत्र सहित सदस्यता परिचय पत्र देखाउनु पर्ने तर संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
सदस्यहरुले ओ.पि डि. टिकट,सीटी स्क्यान र ईम्प्लान्ट बाहेकका अन्य सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने कार्यकारी निर्देशक केसीले बताए । साथै सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरुले समेत सो सुविधा प्राप्त गर्ने नारायणी सामुदायिक हस्पिटलका प्रशासकिय अधिकृत अरुण लम्सालले बताए ।
सम्झौता पत्रमा संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ र नारायणी सामुदायिक हस्पिटलका प्रशासकिय अधिकृत अरुण लम्सालले हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी र कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो ।

