सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफीबाट लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका ४ बस्ने बर्ष २० का राम तामाङ र बर्ष २१ का सरोज श्रेष्ठलाई प्रहरीले आज चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो ।
तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका–३ का पासलाल तामाङसहित उनका ४ जना साथीहरूलाई साउन २६ गते दिउँसो पौने ३ बजेको समयमा नौबिसे बलेफी पक्की सडक खण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए ।
नक्कली पेस्तोल समेत देखाई कुटपिट गरी नगद ९ लाख ८९ हजार तथा महत्त्वपूर्ण कागजातहरू लुटपाट गरी फरार भएका उनीहरूलाई बा९९प ३६७२ नं. को मोटरसाइकलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
घटनामा प्रयोग भएका थप तीन वटा मोटरसाइकल लुकाई छिपाई राखेको अवस्थामा चौतारा साँगाचोकगढी नगरपालिका ४ को ठुलाखेतबाट बरामद गरिएको र पक्राउ परेका दुई जनालाई डाँका चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान कार्य सुरु गरिएको बस्नेतले बताउनुभयो ।
अन्य फरार व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।