चितवन। यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नमुना मतदान गरिएको छ । जिल्ला निर्बाचन कार्यालय चितवनमा नमुना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरि छापिएको नमुना मत पत्रमा मतदान गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले संयुक्त रुपमा मतदान गरेर नमुना मतदानको शुभारम्भ गर्नु भएको थियो । पहिलो हुने निर्वाचन प्रकृया अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा एबं समानुपातिक तर्फको मत पत्रमा मतदान गरिएको हो । मतदान पछि प्रतिकृया दिदै मुख्य निर्वाचन अधिकृत थापाले बास्तबिक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि गरिने बताउनुभयो । मतदाताहरुलाई सिकाउनका लागि समेत नमुना मतदान गरिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “मतपत्र सानो भएकाले असहज छैन । तीन मिनेट ३० सेकेण्डमा मतदान सकेको छु ।” स्थानीय तहको निर्वाचन भन्दा अहिलेको निर्बाचन सहज रहेको उहाँको भनाई थियो । व्यवस्थापनमा लाग्ने कर्मचारी चनाखो हुन सकेमा खासै समस्या नआउने उहाँले बताउनुभयो । यसपालि जति उम्मेदवार त्यती चिन्ह भएको मतपत्र आउने भएकाले बदरहुने समस्या न्यून रहने थापाले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले समानुपातिक मपत्र ठूलो हुने भएकाले केही असहज भए पनि प्रत्यक्ष तर्फ सानो मतपत्र हुने भएकाले सहज हुने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सातवटा छाप लगाउनु पर्ने हुँदा मतदाता झुक्कीने भए पनि अहिले एउटा मत पत्रमा एउटा छाप लगाउँदा मतदातालाई सहज हुने उहाँको भनाई थियो । निर्वाचन आयोगले निर्वाचनको प्रशिक्षण प्रशिकलाई तयारीका लागि नमुना मतदान गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा अहिले ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । जस मध्ये महिला मतदाताको संख्या पुरुषको भन्दा बढि रहेको छ । २ लाख ९ हजार ३०९ मतदाता महिला रहेका छन् भने पुरुष १ लाख ९९ हजार ३२ जना रहेको जिल्ला निर्बाचन कार्यालयका प्रमुख भिमशेन कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार १६२ मतदान स्थलमा ४६० केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजा ८४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदान स्थल र १५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका १ लाख २४ हजार २१४ जना मतदाताले ४३ मतदान स्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।
यस्तै चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदान स्थलका १६३ मतदान केन्द्रबाट १ लाख ४४ हजार २८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रो लिङ्गी मतदाताले समेत मतदानमा सहभागीता जनाउने कार्यालयले जनाएको छ ।

