चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा बनाउने भनिएको बहुप्रतिक्षित सिग्नेचर पुलको लागि ठेक्का आह्वान भएको छ । हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो ।
पुरानो पुल जिर्ण भइसकेको छ । पुलको भार बहन क्षमताको म्याद सकिसकेकाले जतिबेला पनि भत्किन सक्ने जोखिम रहेकाले अब त्यस ठाउँमा सिग्नेचर पुल बनाउन लागिएको हो ।
यसअघि विभिन्न नेताहरुले नारायणी नदीमा सिग्नेचर पुल बनाउने आश्वासन दिँदै भोट माग्ने गरेका थिए । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको हो । बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् ।


