काठमाडौं । लेखक कवि विनोद नेपालको नवीनतम कवितासंग्रह ‘हल्लैहल्लाको देश’ सार्वजनिक भएको छ । उक्त कवितासंग्रह भूगोल साहित्य समाजले प्रकाशनमा ल्याएको हो । नेपालको यस कविता कृतिमा संग्रहित कविताहरूले सामाजिक विसंगति र समसामयिक घटनाक्रम बोलेको छ ।
काठमाडौंमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा कविताकृति सार्वजनिक गर्दै साहित्यकार किशोर पहाडीले नेपाली साहित्यमा लेखन र प्रकाशनलाई लिएर आफ्नो विचार व्यक्त गरे ।
दिनेशविक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वियोगी बुढाथोकी, धनराज गिरी, ओम आचार्य, हरिश्चन्द्र गौतम, शैलेन्द्रकुमार शाह तथा लेखक विनोद नेपालले बोले ।
गत ३५ वर्षदेखि साहित्य सिर्जनामा संलग्न नेपालकोे नियात्रासंग्रह ‘देश र विदेश’ र लघुकथासंग्रह ‘गोदान’ प्रकाशित भइसकेको छ । कार्यक्रममा कृति भित्रको कविता पनि वाचन गरिएको थियो ।