चितवन । राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले धर्म, संस्कृति जगेर्ना गर्न लाग्नुपर्ने बताउनुभएको छ । गोर्खाको धार्मिक स्थल मनकामना दर्शन गर्न पुग्नुभएका पूर्वमन्त्री पाण्डेले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनतामा जागरण चाहिएको बताउनुभयो ।
“जनअनुमोदन विना धर्म निरपेक्ष राष्ट्र बनाउने काम भयो”, उहाँले भन्नुभयो, “हिन्दुराष्ट्र पुनःस्थापनाका लागि हातेमालो गरौँ ।”
नेपाल देवभुमी भएकाले ऋृषि, महर्षिहरुले तपस्या गरेको क्षेत्रमा सबै धर्मको सम्मान हुने गरी हिन्दुराष्ट्र बनाउनुपर्नेमा जोड दिनुभयो । पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएको छ । उहाँसँगै मनकामना दर्शनका लागि चितवन ३९क० का उम्मेदवार गिरबहादुर तामाङ ९ज्ञानजंग लामां० र ३९ख० का उम्मेदवार रिना गुरुङ सहित राप्रपाका जिल्लाका नेताहरु सहभागि हुनुहुन्थ्यो ।
मनकामना दर्शनले मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । “मंसीर ४ मा जनताले असल र विकासवादी नेतृत्व चुन्नेमा आशावादी छौँ”, राप्रपा उपाध्यक्ष पाण्डेले पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा भन्नुभयो, “हिन्दुत्वमाथि प्रहार गर्ने नेताहरु विदाई हुनेछन्, मौलिक भाषा, संस्कृति जगेर्ना गर्ने नेतृत्व सदनमा पुग्नेछन् ।”

