हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा गएराती एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिएको थियो । हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।
मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर रहेका छन् ।
त्यस्तै, हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन् ।
घाइतेहरुको हेटौँडा, चितवन तथा काठमाडौंमा उपचार जारी रहेको छ ।