चितवन । चितवनमा मौरीपालन क्षेत्रमा नयाँ किसानको आकर्षण बढ्दै गएको छ । तर, दशकौँदेखि मौरीपालन गर्दै आएका कृषक भने प्रतिफल राम्रो नभएको भन्दै चिन्तित बनेका छन् ।
कालिका नगरपालिका ९ का ५२ वर्षीय दुर्गाबहादुर रायमाझीले २०६२ सालदेखि मौरीपालन गर्दै आएका छन् । मौरीपालनबाटै परिवार पाल्दै आएका रायमाझी अहिले त्यती सन्तुष्ट भने छैनन् । सरकारबाट मौरीपालक किसानलाई सहयोग नभएकै कारण नचाहँदा नचाहँदै पनि व्यवसायबाट विस्थापित हुनुपर्ने बाध्यता नजिकिँदै गरेको उनी बताउँछन् ।
अहिले मह विक्री भएको छैन् । मौरीलाई चिनी खुवाउनुपर्छ । माइग्रेसन गराउनुपर्छ । मह भने विक्री हुँदैन, कसरी मौरी पाल्ने ? त्यही भएर नै अहिले आएर मौरी पाल्ने मन मरेको छ ।
सानो लगानीबाट रायमाझीले मौरीपालन सुरु गरेका थिए । तर पछिल्ला केही वर्षयता मह उत्पादनमा चरनको समस्या, बजारमा छ्याप्छ्याप्ती पाइने नक्कली महका कारण र वास्तविक किसानले अनुदान नपाउने समस्याले गर्दा यो व्यवसायमा आफुलाई सन्तुष्टि हराउँदै गएको उनी बताउँछन् । उनी थप्छन्, ‘मौरीपालनले मेरो ७ जनाको परिवारलाई धानेको थियो । पाँच जना छोराछोरीलाई मौरीले नै पढायो । तर अहिलेको परिस्थितिअनुसार मौरीपालन व्यवसायमा सोचेअनुसारको लाभ मिलेको छैन् ।’
अहिले मौरीको अस्तित्व समेत संकटमा परेको छ । मह किसानको घर घरमा थुप्रिएका छन् । विदेशी महले बजार कब्जा गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेर मौरीपालन गर्दै आएका रायमाझीले मौरीका घार बढाउन भन्दा घटाउन बाध्य भएको सुनाउँछन् । उनी भन्छन्,‘पहिला–पहिला १४० घारसम्म मौरी थिए । अहिले घटेर १०० घार मात्रै बाँकी छन् । हामी जस्ता कृषकलाई सरकारले नहेरेकैै कारण अब यो पेशा छोड्न बाध्य हुँदै छौँ ।’
रायमाझीले मह उत्पादनका लागि हरेक सिजनमा बाहिरी जिल्लामा मौरी चराउन लाने गर्छन । मौरी चरीचरणका लागि दाङ, प्युठान, मकवानपुर, काँस्की, रुकुम लागायतका जिल्लामा लैजान्छन् । उनले सिजनमा साढे दुई टनसम्म मह उत्पादन गर्ने गरेका छन् । तर, मह बिक्री नहुँदा लागत खर्च समेत उठाउन समस्या भएको उनी बताउँछन् । उनले भने,‘अहिले मह विक्री भएको छैन् । मौरीलाई चिनी खुवाउनुपर्छ । माइग्रेसन गराउनुपर्छ । मह भने विक्री हुँदैन, कसरी मौरी पाल्ने ? त्यही भएर नै अहिले आएर मौरी पाल्ने मन मरेको छ ।’
कालिका ९ का पुष्प डल्लाकोटीको पनि रैथाने पेशा हो मौरीपालन । बाबु बाजेको पालादेखि मौरीबारे जानकारी पाएका डल्लाकोटीले आफुले पनि सोही पेशा सम्हालेका छन् ।
युवाहरु रोजगारका लागि विदेशिने क्रम चलिरहका बेला डल्लाकोटी भने नेपालमै केही गर्छु भनेर लागि परेका छन् । उनले अहिले १०० घार मौरी पालेका छन् । उनले वार्षिक ३ टन मह उत्पादन गर्ने गर्छन् ।
युवाहरु पछिल्लो समय व्यवसायमा आकर्षित हुँदैै गर्दा सरकारले मौरीपालक कृषकको हित हुने नीति ल्याउन सके देशमा वेरोजगारीको अन्त्य भइ युवा पलायन हुन रोकिने उनी बताउँछन् ।
नेपाली किसानले उत्पादन गरेको महले बजार नपाउने र बाहिरबाट मह आयात हुँदा कृषकहरु यस पेशाबाट निरुत्साहित हुने क्रम पनि उत्तिकै बढ्दो रहेको उनको भनाई छ । उनले भने ‘हाम्रो मह उत्कृष्ट छ त्यसैकारण महंगो पर्न जान्छ । विदेशी महको आयातले गर्दा नेपाली बजारमा हाम्रो मह बिक्री हुन मुस्किल भएको छ ।’
कतिपय ठाउँमा स्थानीय सरकारले चरीचरणमा सिन्डिकेट लागु गरेको छ । चरीचरणका लागि लगिएका जिल्लामा वडादेखि प्रशासनसम्म महंगो कर तिर्नुपर्ने र कतिपय ठाउँमा सुरक्षितका साथ मौरी चराउन नपाउने हुँदा आर्थिक क्षति समेत बेहोर्नुपरेको उनीहरुको भनाइ छ ।
सरकारले मौरीपालक कृषकलाई एम्बुलेन्स स्तरको मौरी बहान र निशुल्क ढुवानीको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।
चितवनमा २०५१ सालदेखि व्यवसायीक रुपमा मौरीपाल सुरु गरिएको थियो । १५ जना कृषकले व्यवसायीक रुपमा सुरु गरेको यस क्षेत्रमा अहिले ५५० कृषक व्यवसायीक रुपमा लागेका छन् । अहिले जिल्लाभर ३० हजार बढी मौरी गोला रहेका छन् ।
औषधीय गुणले भरिपूर्ण मह जनस्वास्थ्यसँग जोडीएको छ । सरकारले आम मानसमा महको प्रचार गरी आयातित महलाई प्रतिबन्ध लगाउन सके घरमै मह थुपार्नुपर्ने बाध्यता हट्ने कृषकहरु बताउँछन् ।