चितवन। नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले नारायणगढका घरधनीले सलामी बापत मोटो रकम मागेर व्यवसायीलाई विस्थापित गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चले आज विज्ञप्ति जारी गर्दै घरधनीले सलामी मागेर लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई विस्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएको हो । नारायणगढको शहिदचोकस्थित साइनाथ इलेक्ट्रोनिक्सका सञ्चालक सुनिलकुमार श्रेष्ठसँग घरधनी कैलाश श्रेष्ठ र बद्रीलाल श्रेष्ठले सलामी मागेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायी श्रेष्ठले सलामी बापत रकम दिन नसक्ने भएपछि बिभिन्न बहानामा घरधनीले विस्थापित गर्न खोजेको विज्ञप्तिमा भनिएको छ ।
मञ्चले उक्त बिषयमा सत्यतथ्य बुझी समन्वयकारी भूमिका निर्वाह गर्न पहल गर्दा घरधनी सहमतिमा नआई सात दिन भित्र घर खाली गर्न व्यवसायीलाई आदेश दिएकोप्रति पनि गम्भीर ध्यानाकर्षण जनाएको छ । गैर कानुनी रुपमा लिईने सलामी तथा धरौटी रकम र अस्वभाविक भाडा वृद्धि हटाउनुपर्ने माग मञ्चले गर्दै आएको अवस्थामा मोटो रकम मागेर स्थापित व्यवसायीलाई हटाउन खोज्नु खेदजनक भएको विज्ञप्तिमा जनाइएको छ ।
मानव अधिकारसँग जोडिएको आमनागरिकको सुरक्षित व्यवसाय र बसोबासको सुनिश्चिताको अधिकारको प्रवाह नगरी बिजुली बत्ती काटी व्यवसायमा बाधा पु¥याउने घरधनीको कदमको मञ्चले निन्दा गरेको छ । शान्त र भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न पाउने अधिकार कुण्ठित भएको मञ्चको विज्ञप्तिमा जनाइएको छ ।
यस्ता दबाबमुलक कृयाकलाप नरोकिए संघर्षमा उत्रिन वाध्य हुने मञ्चको चेतावनी छ । व्यवासय स्थल प्राप्तिका लागि धरौटी र सलामी बापत मोटो रकम दिने र सञ्चालनमा रहेको व्यवसायीलाई विस्थापित गराई आफू र आफ्नो व्यवसाय स्थापित गर्न खोज्नु गैरकानुनी भएको मञ्चको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यमा संलग्न नहुन मञ्चले व्यवसायीहरुलाई आग्रह गरेको छ ।

