मनाङ। हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने प्रवृत्तिले यहाँ विद्यार्थी बाल विकासबाहेकका विद्यार्थी शून्य भएका हुन्् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ विद्यालयमध्ये १४ विद्यालयमा बाल विकासका कक्षा मात्रै सञ्चालन भएको देखिन्छ ।
नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई गरी १४ विद्यालयमा बाल विकासका विद्यार्थी मात्रै रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १४ विद्यालयमा बालविकासका कक्षा मात्रै सञ्चालन भएको छ । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास सकिएना साथ विद्यालयमा शून्य विद्यार्थी हुने गरेका छन्”, प्रमुख चपाईले भन्नुभयो ।
मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने शून्य नै रहेको उहाँले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो ।
जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यार्थीविहीन भएको छ । “विद्यालयको भवन र शिक्षक छ । विद्यार्थी छैन । यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प नै छैन”, उहाँले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।” बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी सुरक्षित पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो ।
जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर बालबालिका पढाउने आशा रहेको अभिभावकको भनाई छ । बाल विकासदेखि कक्षा १२ सम्मका कूल पाँच सय ४५ विद्यार्थी रहेका छन् भने कूल एक सय ६१ शिक्षक रहेका शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

