चितवन । रत्ननगर नगरपालिकालाई सहयोगपेक्षि ‘सडक मानव’ मुक्त बनाउन बनाउने तयारी गरिएको छ । तयारी स्वरुप रत्ननगर नगरपालिकाको आयोजनामा नगरका वडा अध्यक्ष, सदस्य, कार्यपालिकाका सदस्यहरुबिच अन्तरक्रिया गरिएको छ ।
रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक प्रमुख तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्था सञ्चान गर्नुको उद्धेश्य र चुनौतिका बारेमा प्रकाश पारेका थिए । सडकमा आश्रित वा सडकका पेटीहरुमा कष्टकर जीवन बिताईरहेकाहरुलाई उद्धार गरि उनीहरुलाई नयाँ जीवन दिनु नै हाम्रो मुख्य उद्धेश्य रहेको अधिकारीले बताए । जीवन नै जोखिममा रहेकाहरुको तत्काल उद्धार गर्ने पद्धती बसाल्न सहयोगापेक्षी सडक आश्रित मानव मुक्त घोषणा गर्न आवश्यक रहेको उनको भनाई छ ।
१० वर्ष अगाडी हेटौँडामा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन गरेको आश्रमको नेपालका ७ वटा प्रदेशका १९ वटा जिल्लामा शाखा कार्यालयहरु सञ्चालनमा रहेको उनले बताए ।उनले भने, ‘२०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानव रहित राष्ट्र नेपाल निर्माण गर्ने संकल्प लिएका छौं ।’
अहिले सम्म ७ हजार ४३ जनालाई सडकका पेटीहरुमा कष्टकर जीवन बिताईरहेकाहरुको उद्दार गरिनुका साथै २ हजार ७ सय १४ जनालाई सुधार पश्चात पारिवारिक पुर्नमिलन गराईको उनले जानकारी दिए ।
अहिले नेपालको कर्णाली र गण्डकी प्रदेश सडक मानवमुक्त घोषणा भईसकेको छ । मकवानपुर जिल्ला, झापा जिल्ला, भरतपुर महानगरपालिका, गोरखा नगरपालिका, विराटनगर महानगरपालिका र विरगञ्ज महानगर पालिका मानवमुक्त घोषणा भईसकेको छ भने काठमाडौं महानगरपालिका घोषणाको तयारीमा छ ।
भरतपुर महानगरपालिका– ३ नारायणगढमा रहेको चितवन शाखाको भवन निर्माणमा सहयोगका लागि नेपथ्य ब्यान्डको सहकार्यमा आउदो मंसिर २५ गते नारायणगढमा सांगितिक कार्यक्रम गर्न लागिएको अधिकारीले बताए । मंसिर १६ गते देखि पौष १५ गते सम्म देशभरका ८ वटा स्थानमा सांगितिक कार्यक्रम गर्न लागिएको अधिकारीको भनाई छ ।
मानव सेवा आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले सडकमा आश्रित साच्चिकै हो वा होईन, काम गर्न अल्छिले सडक पेटीमा आश्रित रहेको छ भनेर पहिचान गरेरमात्र त्यस्ता व्यक्तिलाई आश्रममा लैजानुपर्ने बताईन् ।कार्यक्रम रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकको सभापतित्वमा भएको थियो ।

