काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डले गम्भीर घात गरेको तथ्य राख्नुभएको छ ।
अध्यक्ष ओलीले प्रचण्डले घात गरेपछि नै नयाँ ढंगले पार्टी अघि बढेको बताउनु भयो । उनले अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको बताए ।
प्रचण्डको गृहजिल्ला चितवनका माओवादी नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको बताए ।
‘मैले अँगालो हालेर, अध्यक्ष बनाएर मेरै छेउमा राख्दा प्रचण्डले मलाई ग्वाम्मै छुरा घोपे, अध्यक्ष ओलीले भन्नुभयो, अस्ति कता भिडिओमा हेर्दै थिएँ, केपी ओलीलाई त मैले साधारण सदस्यबाटै निकालेको थिएँ भनेर प्रचण्ड गर्व गर्दै थिए । कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी भने मसँग बहुमत पुगिसक्यो भनेर निकाल्न तम्सिएछन् ।’

