चितवन। भरतपुरमा समावेशी शिक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आज (बिहीबार)बाट सुरु भएको छ । बेलायत सरकारको सहयोगमा संचालित अपाङगता समावेशी विकास कार्यक्रम अन्तर्गत संचालित समावेशी शिक्षा परियोजना सम्बन्धि कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
समावेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ वर्ष उमेर समूहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्षित वर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।
भरतपुर महानगरपालिकामा ८७ वटा स्कुल र कालिका नगरपालिकामा ३५ वटा स्कुलमा यो परियोजना लागू भएको छ । गोष्ठीमा कमिटेड संस्थाका परियोजना व्यवस्थापक योगेन्द्र चापागाईंले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा लागू भएको समावेशी शिक्षा परियोजनाको अवस्था,लक्षित वर्ग, भौतिक पहुँचको अवस्था, सूचकहरुको वर्तमान अवस्था र स्कुलहरुमा परियोजनाले पारेको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।
गोष्ठीमा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको छ ।
गोष्ठीको पहिलो सत्रमा शिक्षा सम्बन्धि राष्ट्रिय नीतिहरुको बारेमा ह्यान्डिक्याप इन्टरनेशनलका परियोजना ब्यबस्थापक सुशील खनालले प्रकाश पार्नु भएको हो ।
गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले महानगर १० वर्षे शिक्षा योजना निर्माण गर्ने क्रममा रहेको बताउनु भयो । पौडेलले बालबालिकालाई सिकाइको दायरामा ल्याउन यो परियोजनाले सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाइ मुलधारको शिक्षामा ल्याउनु पर्नेमा उहाँको तर्क छ ।
गोष्ठीमा भरतपुर महानगरपालिका भित्रका ११ वटा विद्यालयका प्रध्यानाध्यापकहरु, वडा न १,११,१५,२४,२६ र २९ का अध्यक्षहरुको सहभागिता रहेको छ ।
परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल, लियोनार्ड चेसाइर र सेन्स इन्टरनेशनले साझेदारी संस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा संघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् । परियोजनाको अबधि ३ वर्षको रहेको छ ।

