चितवन। केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) विरुद्ध रोमाञ्चक जित हात पार्दै सशस्त्र प्रहरी बल (एपिएफ) एफसी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज (बुधबार) भएको रोमाञ्चक खेलमा बिभागिय टोली एपिएफले आयोजक बिएफसीलाई ३-२ ले पराजित गर्यो । एपिएफको जितमा हरि कार्कीले दुई गोल गरे । एपिएफले अर्को एक उपहार गोल पायो । बिएफसीका कमल थापा र राज भुसालले गोल गरे ।
खेलको १० औं मिनेटमा हरिको गोलबाट एपिएफले अग्रता लियो । एक गोलले पछि परेको बिएफसीले पहिलो हाफको अतिरिक्त समयमा कमब्याक गर्यो । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा कमलले बराबरी गोल फर्काए । लगत्तै अतिरिक्त समयको तेस्रो मिनेटमा राजले गोल गर्दै ए डिभिजन क्लबविरुद्ध बिएफसीलाई अग्रता दिलाए ।
बिएफसीको कमब्याकपछि खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा दुबै टिमले गोलको अवसर सृजना गर्ने प्रयास गरे । ४९ औं मिनेटमा एपिएफ बराबरी गोल फर्काउन सफल भयो । उसका लागि हरि कार्कीले गोल गरे ।
६९ औं मिनेटमा एपिएफ भाग्यमानी साबित भयो । बिएफसीका कुलदीप कार्कीले आत्माघाती गोल गरे । बल क्लियर गर्न खोज्दा उनले आफ्नै पोष्टमा गोल गरेपछि एपिएफ ३-२ ले विजयी भयो । एपिएफका हरि म्यान अफ दि म्याच चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे ।
यो जितसँगै सेमिफाइनलमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि मनाङ एफसीको सामना गर्नेछ । मनाङ बागमती नगरपालिका सर्लाहीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
क्याम्पा चौर नारायणगढमा जारी गोल्डकपमा बिहीबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनल खेलमा दिउँसो ४ बजे त्रिभुवन आर्मी फुटबल क्लब र नव जनजागृती युवा क्लब भिड्नेछन् । असोज ३ गतेसम्म चल्ने गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

