चितवन। लोकप्रिय गायिका समिक्षा अधिकारीले आँफुलाई अदालतले दिलाइदिन लागेको १० लाख रुपैयाँ लिन आफ्नो कुनै मनसाय नरहेको बताएकी छिन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल (फेसबुक) मार्फत एक स्ट्याटस लेख्दै उनले आफ्नो अस्मिता जोगाउनका लागि लागिपर्ने तर पिडकले दिएको क्षतीपूर्ती नलिने बताएकी हुन् ।
समिक्षाले स्ट्याटसमा लेखेकी छन् ‘मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार ! यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला। बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।
क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’


