चितवन । एभिनर एफसी क्यामरुन इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नारायणगढको क्याम्पाचौरमा आज (मंगलबार) सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा फर्साटिकर एफसी रुपन्देही लाई १-० ले पराजित गर्दै एभिनरले सेमिफाइनलमा स्थान बनाएको हो । एभिनरको जितमा स्याङ्गुले निर्णायक गोल गरे ।
पहिलो हाफमा फर्साटिकरले केही सुन्दर अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन । खेलमा कमै अवसर बनाएको एभिनरले दोस्रो हाफमा अग्रता लियो । ५१ औं मिनेटमा एभिनरका स्याङ्गुले गोल गरे । लङ रेन्ज प्रहारमा उनी भाग्यमानी साबित भए ।
एक गोलले पछि परेको अवस्थामा पनि फर्साटिकरले केही राम्रो अवसर बनाएको थियो । तर फिनिसिङमा चुक्दा पराजय व्यहोर्न वाध्य भयो । निर्णायक गोल गरेका स्याङ्गु नै म्यान अफ दि म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यो जितसँगै एभिनर सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपमा बुधवार आयोजक भरतपुर फुटबल क्लब बिएफसी र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

