चितवन । भरतपुरको फनपार्कस्थित नारायणी मनिट्रान्सफरको काउन्टरमा धारिलो हतियार देखाइ लुटपाट गर्ने एक जना अटोचालकलाई प्रहरीले पक्राउ गरेकोे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज (मंगलबार) पत्रकार सम्मेलन गरी नवलपरासी बर्दघाट सुस्तापूर्व घर भई हाल भरतपुर १६ मा डेरा गरी बस्ने ०३( बा प्र ०३–००१ ह १२६३ नम्वरको अटो चालक मिनमान सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सुनारले भदौ २६ गते आइतबार भरतपुर ४ फनपार्कस्थित पूर्णशंकर गौतमको घरमा सञ्चालित नारायणी मनिट्रान्सफरको काउन्टरमा छिरी मनिट्रान्सफरमा कार्यरत कर्मचारीलाई धारिलो हतियार देखाई मार्ने धम्की दिई काउन्टरबाट दुई लाख चार हजार २५० रुपैयाँ लुटी फरार भएका थिए ।
सुनारको खोजी गर्ने क्रममा हिजो (सोमबार) भरतपुर १० चौविसकोठी स्थित बा प्र ०३–००१ ह १२६३ नम्वरको सोही अटोमा नै बसिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
प्रवक्ता पण्डितका अनुसार सुनारले मनिट्रान्सफरमा लुटेर फरार भएको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले निजको खोजी गर्ने क्रममा घटनास्थल वरपरका मानिस र सिसिटिभि फुटेजका आधारमा अटोमा नम्बर पत्ता लगाएको थियो ।

प्रहरीले अनसशन्धान तथा खानतलाशी गर्ने क्रममा निजको साथमा रहेको सानो व्यागवाट लुटेको तेह्र हजार छ सय पाँच रुपैयाँ नगद, निजको कोठाबाट एक लाख ६७ हजार रुपैयाँ नगद, २ थान दाउ र नागरिकता बरामद गरेको छ ।
त्यस्तै भरतपुर २६ सिसै स्थित खेतको पानीको घोलभित्रबाट सुनारले लुटपाट गर्दा लगाउने कपडा, १ थान कट्टु , १ थान टिसर्ट तथा १ जोर जुत्ता, १ थान कालो कलरको मास्क, १ थान पञ्जा तथा बोरा नजिक १ थान (एच इ एल एम इ टि एस) लेखिएको कालो कलरको हेल्मेट लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
उक्त समानहरुसहित सुनारलाई पक्राउ गरी डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

