चितवन। खराब मौसमका कारण लाइट नपुगेपछि इसुजु चितवन गोल्डकपको पहिलो क्वाटरफाइनल अन्तर्गत मनाङ एफसी र बागमती नगरपालिका सर्लाहीबीचको टाईब्रेकर भोलि (मंगलबार) बिहान हुने भएको छ ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि लाइट नपुगेकोले टाईब्रेकर भोलि बिहान ७:३० बजे गर्ने निर्णय गरिएको म्याच कमिस्नर रामहरि ढकालले बताए । वर्षाका कारण लाइट नपुगेकोले आजका लागि टाईब्रेकर स्थगित गरिएको उनले बताए ।
त्यस अघि निर्धारित समयमा दुबैतर्फबाट एक-एक गोल भएको थियो । पहिलो हाफमा बागमतीले उपहार गोलमा अग्रता लिएको थियो । २६ औं मिनेटमा मनाङका प्रवेश बुढाथोकीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे ।
दोस्रो हाफमा मनाङले बराबरी गोल फर्कायो । दोस्रो हाफको २० औं मिनेटमा फोफानाले मनाङका लागि बराबरी गोल फर्काए । बाँकी समयमा थप गोल हुन सकेन खेल बराबरीमा सकियो ।
मंगलबार क्वाटरफाइनलको दोस्रो खेलमा एभिनर एफसी क्यामरुन र फर्साटिकर एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा नारायणगढको क्याम्पा चौरमा जारी गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

