चितवन। नेकपा ( माओबादी केन्द्र ) निकट मुस्लिम मुक्ति मोर्चा नेपाल चितवनको नारायणगढमा भएको तेस्रो जिल्ला भेलाले नेकमहम्मद मियाँलाई अध्यक्षमा चयन गरेको छ । भेलाले मियाँको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सफि मियाँ, कुरेत अहम्मद सिद्धिके, युसुफदिन मियाँ चयन हुनुभएको छ । यस्तै सचिवमा आजमदिन बरकाती, सहसचिवमा महम्मद सइदिन, निव खान, रफि मियाँ, नसिब शेख, कोषाध्यक्षमा स्माइलदिन मियाँ चयन हुनभएको छ ।
जिल्ला भेलालाई सम्बोधन गर्दै मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अत्तर हुसेन फारुकीले मुस्लिम समुदायको उत्थानका लागि एक्वद्धता र खबरदारी आवश्यक रहेको बताउनुभयो । उहाँले मुस्लिम समुदायको पहिचान स्थापित गर्न अझै संघर्षहरु बाँकी रहेको बताउनुभयो । माओवादी केन्द्रकै कारण मुस्लिम आयोग गठन, राष्ट्रिय विदा, धर्म निरपेक्षता जस्ता विषयले प्राथमिकता पाएकाले आसन्न चुनावमा सोही अनुसार मोर्चा प्रतिवद्ध भएर लाग्ने दाबी गर्नुभयो । माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले सीमान्तकृत, सर्वहरा वर्ग, मजदुर किसानको पक्षमा माओवादी निरन्तर लागिरहने बताउनुभयो ।
माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष इश्वर सापकोटा सुमनले मुस्लिम समुदायको उत्थानका लागि माओवादी केन्द्रलेनै अगुवाई गर्ने बताउनुभयो । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहिन, सुकुम्बासीलाई लालपुर्जा वितरणको काम निर्वाचनले असर नपार्ने बताउनुभयो । उहाँले मुस्लिम समुदायभित्र भूमि सम्बन्धि भएका समस्याहरु समेत छिटै निराकरण हुने दाबी गर्नुभयो । मोर्चाका महानगर अध्यक्ष नहिम मियाँले मुस्लिम समुदायको अधिकार स्थापित गराउन राज्यको निरन्तर ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

