चितवन। इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जन जागृति युवा क्लब सिमराले सहज जित हात पारेको छ ।
आज (आइतबार) नारायणगढको क्याम्पा चौरमा सम्पन्न खेलमा सिमराले मकवानपुर ११ लाई ३-१ ले हराएको हो । सिमराको जितमा विवेक चौधरीले दुई गोल गरे । अर्को एक गोल सृजन गौतमले गरे । मकवानपुरका सुजन गुरुङले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लियो । २४ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै सिमरालाई दोहोरो अग्रता दिलाए । पहिलो हाफमा मकवानपुरमाथि सिमरा हाबी भयो ।
मकवानपुरले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो । ४७ औं मिनेटमा सुजनले गोल गर्दै मकवानपुरलाई खेलमा फर्काउने संकेत गरे । दोस्रो हाफमा मकवानपुरले थप केही अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन ।
७० औं मिनेटमा सृजनले गोल गर्दै सिमराको जित सुनिश्चित गरे । दुई गोल गर्ने सिमराका विवेक म्यान अफ दि म्याच चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
गोल्डकपमा सोमबार मनाङ एफसी र बागमती नगरपालिका सर्लाही भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

