चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै उद्देश्यमा अघि बढ्दा सफलता प्राप्त गर्न सकिने बताएका छन् ।
नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिएका हुन् । आफू गरिब परिवारमा जन्मेको र पहाडमा खान लाउन नपाउने भएपछि चितवन झर्दा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसकेकोमा गौरवशाली महससु हुने बताए ।
‘हामीले युवा अवस्थामा छलफलको क्रममा देशलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सपना देखेका थियौँ। त्यो अठोट अहिलेसम्म कायम छ। तपाईहरु सपना बनाउनुस्। लागि पर्नुस् सफलता तपाईंहरुलाई चुम्न आइपुग्छ ।’ उनले भने, ‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसकेँ । मैले युद्धको कमाण्ड गरे सुप्रिम कमाण्डर बने विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे। म गौरव ठान्छु ।’
त्यस्तै, अध्यक्ष प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको र कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको उनको भनाई छ । कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने उनले बताए ।
‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०/६० वर्ष अगाडी हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो किन यस्तो भइराखेको छ हाम्रो चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ, लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ । तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडी होइन पछाडी गएको देखिनु ठूलो चुनौती हो । त्यसकारण हामीले हामीसँग भएको जलको सहि सदुपयोग गर्ने, पर्यटनको विकासको निम्ति हामीले आवश्यक सबै पूर्वाधारको विकास गर्ने कुरा वा जडिबुटी र खनिजको विकास गर्ने कुरा त छँदैछ ।’ उनले भने ।

