चितवन । भरतपुरका अस्पतालहरुमा पछिल्लो समय चोरको बिगबिगी बढ्दै गएको छ । दैनिकजसो चोरीका घटना बढ्दै गएपछि अस्पताल परिसर असुरक्षित बन्दै गएको छ ।
गत बुधबार छोरीको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) पुगेकी रत्ननगर २ टाँडीकी २१ वर्षीया सुस्मिता परियारको हिजो (शुक्रबार) साँझ मोबाइल चोरी भयो ।
दुई दिनसम्म आइसीयुमा रहेकी उनकी छोरीको स्वास्थयमा केही सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमा सारेको केही बेरमै उनको मोबाइल गाएब भयो । उनी भन्छिन्, ‘झम्के साँझ परेको थियो । छोरीलाई बेडमा सारेपछि त्यही बेडको छेउमा मोबाइल चार्जमा राखेर औषधि लिन गएकी थिएँ । औषधि लिएर फर्किँदा मोबाइल राखेको ठाउँमा मोबाइल नै छैन । चार्जर छोडेर चोरले मोबाइल नै लगिसकेको रहेछ ।’
परियारको मोबाइल खोजी गर्ने क्रममा त्यहाँ अन्य कुरुवाहरुले यसअघि पनि मोबाइल चोरी भएको गुनासो गरेका छन् ।
झम्के साँझ परेको थियो । छोरीलाई बेडमा सारेपछि त्यही बेडको छेउमा मोबाइल चार्जमा राखेर औषधि लिन गएकी थिएँ । औषधि लिएर फर्किँदा मोबाइल राखेको ठाउँमा मोबाइल नै छैन । चार्जर छोडेर चोरले मोबाइल नै लगिसकेको रहेछ ।
पुरानो मेडिकल कलेजका सुरक्षा इन्चार्ज अर्जुन महतका अनुसार अस्पतालको मूख्य गेट, क्यास काउण्टर र परिसरमा सिसिटिभी क्यामरा जडान गरिएको छ । सिसिटिभी क्यामरा सञ्चालन हुँदाहुँदै पनि चोरी नियन्त्रण भने हुन सकेको छैन् । उनी भन्छन्, ‘अस्पताल जस्तो सार्वजनिक ठाउँमा धेरै मान्छे आउजाउ गर्ने क्रम चलिरहन्छ । बिरामी भेट्ने र कुर्ने मान्छे होलान भन्ने सोचिन्छ । यसो हेरेर को मान्छे चोर हो, भनेर चिन्न सकिँदैन् । तर पनि सिसिटिभी क्यामराबाट पत्ता लागेका केही चोरहरुलाई प्रहरीकोमा बुझाएका छौँ । र सकेसम्म चोरी नियन्त्रण गर्ने प्रयासमा छौँ ।’
पुरानो मेडिकल कलेज मात्रै नभएर पछिल्ला दिनहरुमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज लगायत अन्य अस्पतालहरुबाट समेत मोबाइल, पैसालगायतका जिन्सी सामानहरु चोरी भइरहेका छन् ।
गत असार महिनामा उपचारका लागि भरतपुर अस्पताल पुगेकी ७४ वर्षीया मण्डली खनालको झोलाबाट पैसा चोरी भएको थियो । टिकट काट्ने ठाउँमा लाइन लाग्ने क्रममा खनालको झोलामा भएको करिब २८ हजार रुपैयाँ चोरी भएको थियो ।
अस्पतालमा सिसिटिभी क्यामरा सञ्चालन गरिएपनि चोरी नियन्त्रण हुन सकेका छैनन् । अस्पतालका भित्ताभित्तामा तपाई सिसिटिभी क्यामराको निगरानीमा हुनुहुन्छ भनेर लेखिएपनि बिरामी र कुरुवाको सामान सुरक्षित छैन ।
चोरी तथा लुटपाटका घटना बढ्न नदिन जिल्ला प्रहरी कार्यालय चितवनले अस्पताल लगायत व्यवसायीहरुलाई सिसिटिभी क्यामरा जडान गर्न आग्रह गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले पछिल्लो समय चोरी गर्ने गिरोहहरु अस्पतालमा छरिएको भन्दै यस्ता घटनाबाट सजग रहन बिरामी तथा कुरुवाहरुलाई आग्रह गरेका छन् ।
विशेषगरी चाडपर्वको समयमा चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भन्दै प्रवक्ता पण्डितले अस्पताल परिसरमा भएका सिसिटिभी क्यामरा सबै दृष्य कैद गर्न सक्नेगरी सञ्चालन गर्न र जोखिम भएका एरियामा थप क्यामेरा जडान गर्न अस्पताल प्रशासनलाई उनले आग्रह गरे ।