चितवन । चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन माग गरेको छ । संघले आज (बुधवार) रत्ननगरमा पत्रकार सम्मेलन गरी एक हप्ता भित्रमा केरा आयातमा रोग लगाउनुपर्ने बताएको हो ।
चितवनमा उत्साहजनक ढङ्गबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन भइरहँदा पनि बाहिरबाट आयात भइरहेको र यहाँ उत्पादित केराले बजार नपाएको भन्दै संघले आज ०७९ भदौ २२ गतेदेखी २९ गतेसम्ममा आयात रोक्नुपर्ने संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए ।
एक हप्तासम्म पनि भारतीय केराको आयात नरोकिए किसानहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने व्यवसायीले चेतावनी दिएका छन् ।
समयमै समस्याको समाधान हुन नसके व्यवसायिक रुपमा केरा खेतीमा लागेका कृषक व्यवसायबाटै पलायन हुनसक्ने सम्भावना रहेको भन्दै भारतीय केरालाई विस्थापित गरी देशलाई केरामा आत्मनिर्भर बनाउन सम्पूर्ण उपभोक्ता, सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्नुपर्ने संघले बताएको छ ।
चितवनमा ७२२ जना कृषकले ३ हजार २०० विघा क्षेत्रफलमा केरा खेती गरेका छन् ।


