चितवन । रामपुर क्याम्पस चितवनका विद्यार्थीलाई कृषि तथा पशु बिमा अभिमुखिकरण तालिम दिइएको छ । रामपुर क्याम्पस खैरहनीमा अध्ययन गदै आएका कृषि विद्यार्थीलाई लक्षित ३ दिने कृषि तथा पशु बिमा अभिमुखिकरण तालिम दिइएको हो ।
रामपुर क्याम्पसका प्राचार्य मिलन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशी खनियाँ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै मेयर खनियाँले बिमाको सन्दर्भमा नेपालमा गलत प्रभाव परेको बताए । उनले भने, ‘बिमा नेपालको गाउँघरमा सकारात्मक रुपमा छिर्न सकेन, बिमा नगरे विदेशमा उपचारनै पाइदैन तर, नेपालमा निःशुल्क बिमा हुदाँ पनि गदैनन् ।’
बिमा गरेका बिमितहरुलाई पनि बिमा रकम पाइन्छ कि पाइदैन ? भन्ने भ्रम रहेको खनियाँको भनाइ छ । किसानले आफुले उत्पादन गरेका बस्तु बजारमा नपुग्दासम्म ढुक्क नहुने भन्दै कृषि बिमाले कृषकलाई आफनो उत्पादन बजारमा पुग्नु अगावै ढक्क हुन सहज गर्ने खनियाँले बताए ।
रामपुर क्याम्पसका प्राचार्य एवम् कार्यक्रमका सभाध्यक्ष मिलन सुवेदीले कृषि बिमाको तालिम नयाँ कुराको सुरुवात रहेको बताए । उनले भने, ‘यो हामीले नयाँ सुरुवात गरेका छौँ । विद्यार्थी उज्यालो दिने दिप हुन्, उनीहरुले बिमाबारे ज्ञानले किसानमाझ उज्यालो छर्ने छन् । एक जना कृषि विद्यार्थीले १० किसानलाई बिमाबारे ज्ञान दिनेछन् ।’
तालिमको प्रमाणपत्र विद्यार्थीहरुले १० किसानलाई कृषि बिमाबारे बुझाएपछि मात्र पाउने सुवेदीले जानकारी दिए ।
रामपुर क्याम्पसकी विद्यार्थी सुधा भण्डारीले आफु कृषि बिमा तालिमले सन्तुष्ट भएको बताइन् । उनले भनिन्,’मलाई कृषि बिमाबारे थाहानै थिएन तालिमले बिमाबारे जान्ने बुझने मौका पाए, खुशी छु ।’
नेपाल केरा उत्पादक संघका अध्यक्ष बिष्णुहरि पन्तले बिमा बिना खेती गर्न नसकिने भैसकेको बताए । उनले भने, ‘बिमा बिना कुनै देशमा कृषि सफल भएको छैन, नेपालमा पनि सम्भव छैन ।’
त्यस्तै, तरकारी तथा फलफूल व्यवसायी संघमा पूर्वअध्यक्ष पूर्णदत्त भूसालले बाँदरको समस्या देखि अनेक समस्या नेपाली कृषि क्ष्ोत्रमा रहेको र यसलाई दिर्घकालिन रुपमा अन्त्य गर्न कृषिमा आधुनिकरण हुनुपर्ने बताए ।
शिखर इन्सुरेन्सका नायव क्षेत्रिय प्रबन्धक अरुणदेव आर्चायले बिमाले बिमाले पैसा तिर्दैन भन्ने गलत सोच हटाउन जरुरी भएको बताए ।
तालिममा रामपुर क्यापसका कृषि विद्याथीहरु सहभागी थिए । तीन दिन चलेको तालिम खैरहनीको होटल डिज्नी पार्कमा भएको थियो ।

