चितवन । भरतपुर महानगरपालिका वडा नं. ६ केशरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाले मकैको ढोडबाट साइलेज उत्पादन गरेर बिक्री वितरण गरेको छ ।
साइलेज मकैको डाँठ ढोडबाट गुन्द्रुक बनाउने प्रक्रिया हो । किसानको खेतबारीमा बढी भएको मकैलाई संकलन गरी साइलेज बनाई बिक्री वितरण गरिएको संस्थाका अध्यक्ष ऋषिराम चापागाईले बताए । किसानको खेतबारीबाट प्रति के.जी. ४ रुपैयाँका दरले घोगासहितको मकै संकलन गरी मेशिनबाट साइलेज घाँस तयारी गरि प्रति के.जी.१२ रुपैयाँका दरले पशुपालन किसानलाई बिक्री वितरण गरेको संस्थाका अध्यक्ष चापागाईले बताए ।
किसानको खेतबारीमा खेर गइरहेको मकैको डाँठलाई सदुपयोग गर्ने र बेमौसममा गाईभैसीलाई हरियो घाँसको स्वाद दिने उद्देश्यले साइलेज उद्योग निर्माण गरी साइलेज घाँस उत्पादन गरेको उनको भनाई छ । परालको अभावमा यसको प्रयोग गर्न सकिन्छ । यो घाँस खाएको गाईवस्तुले दूधमा पिएचको मात्रा बढाउने, थुनेलोपनमा घटाउने र सजिलै भण्डारण गर्न सकिने हुनाले यसको माग बढ्दो गएको अध्यक्ष चापागाईले बताए ।
अन्नपूर्ण दूग्ध उत्पादन सहकारी संस्थाले उद्योग निर्माण गरी २०७७ साल फागुन महिनाबाट साइलेज उत्पादन सुरु गरेको जनाएको छ । घोगा सहितको ९ लाख ६ हजार केजी मकैको ढोड खरिद गरी ८ लाख ६१ हजार के।जी। साइलेज उत्पादन गरी बिक्री वितरण गरेको उक्त संस्थाका व्यवस्थापक करुण पोख्रेलले बताए । हालसम्म ३ लाख ५० हजार के।जी। साइलेज उत्पादन गरी ४२ लाख रुपैयाँ आम्दानी गरेको व्यवस्थापक पोख्रेलले बताए ।
उत्पादन गरेपछि साइलेजलाई बोरामा प्याकिङ्ग गरेर भण्डारण गरी बिक्री वितरणको लागि राखिएको छ । साइलेज अहिले स्थानिय पशुपालन किसानदेखि चितवन, नवलपुर, काठमाण्डौं, भत्तपुर, सिन्धुली, रामेछाप, बिराटनगरलगायतका जिल्लामा बिक्री वितरण भइरहेको व्यवस्थापक पोख्रेलले बताए । स्थानीय किसानको गोठसम्म संस्थाले निःशुल्करुपमा पु¥याइदिने व्यवस्था मिलाएको उनले जानकारी दिए । स्थानीय किसानलाई पनि साइलेजको मूल्य प्रति केजी १२ रुपैयाँ नै तोकिएको छ ।
नवलपुरको गैंडाकोटमा व्यवसायिकरुपमा पशुपालन गरेका हेमन्त पौडेलले पराल र चोकरको सट्टामा साइलेज घाँस नै प्रयोग गर्न थालेको बताए । साइलेज किन्न अन्नपूर्ण सहकारी संस्थामा आएका पौडेलले भने ‘पराल र चोकरभन्दा साइलेज नै पोशिलो र राम्रो छ, त्यसैले मैले त गाइवस्तुलाई यही प्रयोग गर्न थाले ।’ परालको मूल्य प्रतिकेजी २०÷२२ रुपैयाँ र चोकर प्रति केजी ३५ रुपैयाँसम्म पर्न गएको उनले बताए ।
गैंडाकोटमा स्मार्ट कृषि तथा पशु फार्म सञ्चालन गरेका पौडेलले ४५ वटा गाई पालेका छन् । गाईवस्तुलाई पोशिलो हुने र वर्षायाममा पनि भण्डारण गर्न सजिलो हुनाले आफुले साइलेजको प्रयोग बढाएको बताए ।
सिन्धुलीका पशु व्यवसायिक किसान विमल अधिकारीले केही दिन अघि उक्त सहकारीबाट ५ टन साइलेज लगेका छन् । उनले उक्त घाँस त्यहाँका स्थानीय किसानलाई पनि बिक्री वितरण गरेको बताएका छन् । साइलेज सिन्धुलीमा अहिले हरियो घाँसको सट्टा प्रयोग भएको उनले बताए । साइलेज सस्तो र राम्रो भएपनि ढुवानी भने महंगो परेको सिन्धुलीका किसानको गुनासो छ । चितवनबाट सिन्धुली पु¥याउँदा प्रति केजी १७ रुपैयाँ पर्ने गरेको किसान अधिकारीले बताए ।
उक्त सहकारी साइलेज बनाउने मेशिन ३८ लाख लागतमा भारतबाट खरिद गरेर ल्याएका हौं । बागमती प्रदेश सरकारले पशु आहार परियोजनासहितको दाना उद्योग निर्माणको लागि ९९ लाख रुपैयाँ अनुदान दिएको संस्थाका निवर्तमान अध्यक्ष भागिरथ तिमिल्सेनाले बताए । उक्त परियोजना सम्पन्न गर्नको लागि २ करोड ४६ लाख लागेको उनले बताए । एउटै परियोजना भित्र निर्माण गरिएको दाना उद्योगबाट प्रतिदिन ५ हजार केजी दाना उत्पादन हुन्छ ।
अन्नपूर्ण दूग्ध उत्पादन सहकारी संस्थासँग ६ सय ५० जना कृषकहरु आवद्ध रहेका छन् । तीमध्ये ५ सय ५० पशुपालन किसानले नियमितरुपमा संस्थामा दूध ल्याउने गरेको संस्थाले जनाएको छ । संस्थाले दूग्ध होलिडे र बन्दाबन्दीको समयमा दूध बिक्री नभएको समयमा पाउडर दूध पनि उत्पादन गर्दै आएको छ ।