चितवन । विगत तीन वर्षदेखि व्यवसाय फलदायी नहुँदा चितवनका सुनचाँदी व्यवसायी चिन्तित छन् । कोरोनाका कारण थला परेको सुनचाँदी क्षेत्र यस वर्ष भने चलायमान बन्छ कि भन्ने व्यपारीको ठूलो आशा थियो । विश्वभर भइरहेको आर्थिक मन्दिको कारण यस वर्ष व्यवसायमा धक्का पुगेको भन्दै व्यवसायीहरु चिन्तित बनेका हुन् ।
विगतका वर्षमा जस्तो यस वर्ष सोचेअनुसार सुनचाँदीको कारोबार नभएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष तथा यस ज्वेलर्स नारायणगढका सञ्चालन यमबहादुर बिकले बताए । उनका अनुसार जुन अनुपनतमा कारोबार हुनुपर्ने थियो, यस पटकको तीजमा त्यो अनुपातमा हुन सकेको छैन । विगतका तुलनामा अहिले पर्वकै समयमा पनि चितवनमा १० प्रतिशत मात्रै कारोबार भइरहेको छ ।
‘अमेरिका–चीन व्यापार युद्धका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि छ । देशमा दिनप्रतिदिन चरम आर्थिक अभाव बढ्दै गएको भन्दै पछिल्लो समय जनताहरुले सुनलाई प्रथामिकतामा नराखेको देखिन्छ ।’ अध्यक्ष बिक भन्छन्, ‘अहिले आम उपभोक्तासँग पैसाको लेवल घटेको छ । नेपालीहरुसँग मौज्दात रकम पर्याप्त छैन् । अत्यावश्यक काममा बाहेक अन्य खर्च गर्न सक्ने अवस्थामा हामी छैनौँ । यसै कारण उपभोक्ताले सुनलाई प्राथमिकतामा राखेको देखिँदैन । त्यसैले पनि यो व्यवसाय सन्तोषजनक छैन ।’
अध्यक्ष बिकका अनुसार पछिल्लो समय चितवनले उपभोक्तको माग अनुसार व्यवसायीले सुन पाउन पनि सकेका छैनन् । आर्थिक अभाव र त्यसमाथि सुन आपूर्ति पर्याप्त नहुँदा व्यवसायमा धरापमा पुग्ने स्थिति समेत रहेको उनले बताए । उनी भन्छन्, ‘विगतका वर्षमा चितवनले एक हप्तामा तीन केजि पाउँथ्यो । अहिले १२ देखि १५ दिनमा सरकारले जम्मा दुई किलो मात्रै उपलब्ध गराएको छ । यसले गर्दा सुनचाँदी व्यववसायी दोहोरो मारमा परेको छ ।’
लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेको संख्या ह्वात्तै घटेको सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष तथा जय माँ सन्तोषी सुनचाँदी पसल नारायणगढका सञ्चालक रुबिन रामुदामुले बताए । सुनचाँदीको मूल्य निरन्तर बढ्दै जाँदा महिलाहरु तीजको समयमा नक्कली गहनामा आकर्षित भएको उनी बताउँछन् । उनी भन्छन्, ‘यस वर्ष व्यवसाय सोचेजस्तो भएको छैन ।

