जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने तयारी गरिरहेको बताएकी छन् । बिहीबार जनकपुर आएर मन्त्री भुसालले आफ्नै कार्यकालमा २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने घोषणा गरेकी हुन् ।
“आधारभूत जनताको लागि निःशुल्क विद्युत्को व्यवस्था सरकारले डेढ वर्षको कार्यकालमा पूरा गर्नेछ,” उनले भनिन्, ’त्यसको गृहकार्य सुरु भइसकेको छ ।” गरिबीको रेखामुनि रहेका नागरिकलाई विद्युत् निःशुल्क गर्नुपर्नेमा उनको जोड थियो ।
किसानको लागि सिँचाइको दीर्घकालीन योजना पनि सफलतापूर्वक कार्यान्वयनमा ल्याउने उनले बताइन् । किसानलाई सके न्यून, नसके न्यूनतम शुल्कमा सिँचाइको व्यवस्था गरिने उनको भनाइ छ ।
देशको राजनीतिक अवस्थाप्रति बोल्दै उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पतन सुरु भएको बताइन् । “ओलीको पतन अब सुरु भएको छ,” उनले भनिन्, “अब ओलीको राजनीति सदाको लागि सकिएको छ ।”