मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई न्यायिक हिरासत पठाइएको छ । अश्लील फिल्म निर्माण, बिक्री तथा प्रदर्शनको मुद्दामा प्रहरी हिरासतमा रहेका उनलाई थप १४ दिनका लागि न्यायिक हिरासत पठाइएको हो ।
मंगलबार बम्बे उच्च अदालतले राजलाई थप १४ दिन न्यायिक हिरासतमा राख्ने निर्णय लिएको हो । जुलाई २० सोमबार प्रहरीले पक्राउ गरेका उनको हिरासतको अन्तिम म्याद २७ जुलाईसम्म थियो ।
राजका वकिलहरूले उनको जमानतका लागि पहल गरेपनि मुम्बई प्रहरीको क्राइम ब्रान्चले हिरासतको म्याद थप्न अदालतसँग बारम्बार अनुरोध गरिरहेको थियो । थप अनुसन्धान र बयानको आवश्यकता परेको भन्दै क्राइम ब्रान्चले राजलाई अझै हिरासतमा राख्न माग गर्दै आएको थियो ।
अनुसन्धान टिमले राजको ‘हटस्ट्स’ एपबारे थप जानकारी गुगलसँग मागेको र यसको जवाफ आउन बाँकी रहेको बताइएको छ । यता एप्पल कम्पनीले भने २०२० जुनमा यो एपलाई एपस्टोरबाट हटाएको जवाफ क्राइम ब्रान्चलाई दिइसकेको छ ।
राज कुन्द्राका साथै उनको कम्पनीका आईटी प्रमुख रायन थोर्पेलाई पनि न्यायिक हिरासतमा पठाएको छ ।