कालिका । सौराहाका होटल व्यवसायी तथा पथप्रदर्शकहरुको टोलीले कालिका नगरपालिकामा रहेको शक्तिखोर झरनाको सरसफाइ गरेका छन् । कालिकाको पर्यटन क्षेत्रको अवलोकन गर्न गएका सौराहाका व्यवसायीहरुले कालिका ९ मा रहेको शक्तिखोर झरनामा अत्यधिक फोहोर देखेपछि सरसफाइ गरेका हुन् ।
सौराहाका होटल व्यवसायी विजय लामाका अनुसार झरना हेर्न वा नुहाउन गएका आन्तरिक पर्यटकहरुबाट फोहोर गरिएको हो । ‘झरना भनेरमात्र भएन, सरसफाइ हुनु प¥यो । त्यस्तो फोहोर ठाउँमा हामी कसरी सौराहाका पर्यटकहरु लैजान सक्छौँ ? झरना वरिपरि अत्यधिक फोहोर देखेपछि हामी १० जनाको टोलीले सरसफाइ गरेका हौँ’ लामाले भने । उनले स्थानीय पालिका, वडा कार्यालय तथा त्यहाँका व्यवसायीहले सरसफाइतर्फ चासो नदिएको गुनासो गरेका छन् ।
विस्तारै आन्तरिक पर्यटकहरुको चहलपहल हुँदै गर्दा स्थानीय पर्यटकीय क्षेत्रहरु सरसफाइ गर्नुपर्ने उनको भनाइ छ । सौराहा एभर ग्रिन होटलका सञ्चालकसमेत रहेका लामाले सो क्षेत्रमा लागूऔषध दुव्र्यसनीको संख्या बढ्दो रहेको बताए । उनले भने, ‘शक्तिखोर झरना वरिपरि फोहोरमात्र होइन, युवापुस्ताको थुप्रै विकृतिहरु पनि देखियो, लागूऔषध सेवनकर्ताहरु पनि उपस्थिति भएको पाइयो । यस्तो वातावरण भए पर्यटकहरुले सुरक्षित महसुस गर्दैनन् ।’ उनले तत्काल सरसफाइमा जुटेर पर्यटकीय क्षेत्रलाई सुरक्षित बनाउन सुझाव दिए ।
यस विषयमा कालिका नगरपालिकाले पनि झरनाहरुमा सरसफाइ हुन नसकेको स्वीकार गरेको छ। नगरपालिकाकाले कार्यविधि बनाएर सरसफाइ सुरु गर्ने योजना बनाइरहेको बताएको छ ।