चितवन । ‘आमा’ यस्तो शब्द हो जुन, वर्णन अनि व्याख्या गर्न सकिँदैन । संसारमा जुनसुकै आमाका लागि सन्तान जति प्यारो संसारमा सायदै अर्को चिज नहोला । भरतपुर महानगरपालिका १० बाइपास रोडस्थित सानोघरकी अभिभावक बिमला श्रेष्ठका लागि त्यतिकै प्यारा छन् २० सन्तान ।
सानो घर यस्तो घर हो जहाँ, अनाथ र असहायको सहाराको घर बनेको छ । सोही घरकी आमा बिमला श्रेष्ठ १९ छोरी र १ छोराकी आमा हुन् । श्रेष्ठले २० जना सन्तानलाई नै जन्म नदिए पनि आफूले जन्म दिएको भन्दा बढी माया दिएर आमाको भूमिका निर्वाह गर्दै आएकी छन् ।
चितवनको रत्ननगर नगरपालिका २ निवासी श्रेष्ठ सानैदेखि समाजसेवा गर्न र अन्यायविरुद्ध वकालत गर्न रुचाउँथिन् । दुई सन्तानलाई आफ्नै कोखबाट जन्म दिएकी श्रेष्ठले अहिले २० जना अनाथ छोराछोरीलाई कर्म दिइरहेकी छन् । उनीहरुको शिक्षादीक्षा, पालनपोषण, लत्ताकपडा, स्वास्थ्य उपचारदेखि हरेक कुराको जिम्मेवार उनी आँफै हुन् ।

आमा हुन पाउनु नारीको सौभाग्य हो । सबैको भाग्यमा छोरी पनि हुँदैनन् । मलाई पहिलेदेखि नै छोरीहरुप्रतिको मायामोह धेरै थियो । झन बाबा, आमा र आफन्त गुमाएका लक्ष्मीहरुलाई कर्म दिन पाउनु मेरो अहोभाग्य हो ।
उनी आफँैले जन्म दिएका एक छोरा र एक छोरीमध्ये छोरीलाई अटिजमको समस्या छ । सामान्य अवस्थामा देखिए पनि उमेर बढ्दै जाँदा छोरीको बौद्धिक क्षमताको विकास भने देखिएन । छोरी नौ वर्षकी पुग्दा समेत उनको बौद्धिक विकास हुन नसकेपछि चिकित्सकलाई देखाउँदा उनलाई अटिजम भएको श्रेष्ठले थाहा पाइन् । त्यसबेला उनले सुक्ष्म मनस्थिति कल्याण संस्था चितवनमा सदस्य हुँदै रत्ननगर शाखा अध्यक्षको रुपमा काम गरेकी थिइन् । उक्त संस्थामा काम गरेको अनुभवकै कारण श्रेष्ठले २०६७ साल जेठ नौ गते सानो घरको स्थापना गरेको उनी बताउँछिन् ।
स्थापनाकालमा श्रेष्ठले चितवनका पाँच जना छोरीलाई साना ेघरमा आश्रय दिएकी थिइन् । बालगृहलाई व्यवस्थित बनाउन उनले लामै संघर्ष गरिन् । उनी भन्छिन्, ‘बालगृहकालागि घरमा श्रीमान बाहेक अन्य सदस्यको साथ थिएन। परिवारका अन्य सदस्यको पनि साथ चाहिने ठाउँमा पिडा भने कम थिएन। सुरुवातमा माइती तथा दिदी बहिनीको सहयोगबाट सुरु गरेकी थिए। त्यसबेला आफ्नो केही सम्पत्ति बेचेर छोरीहरुलाई एक संस्थासँग मिलेर रत्ननगरमा राख्न थाले । उक्त संस्थाले सहयोग गरेकै बहानामा बालगृहमा आइएनजीओ राख्ने भन्यो । त्यसपछि त्यहाँबाट उठाएर घर भाडामा लिएर भरतपुरमा राख्न थालियो ।’
अहिले सानोघरमा चितवनबाहेक बाहिरी जिल्ला म्याग्दी, लमजुङ, गुल्मि, जुम्ला लगायतका छोरीलाई कर्म दिन पाउँदा अत्यन्त भाग्यमानी भएको बताउँछिन् । उनी भन्छिन्, ‘आमा हुन पाउनु नारीको सौभाग्य हो । सबैको भाग्यमा छोरी पनि हुँदैनन् । मलाई पहिलेदेखि नै छोरीहरुप्रतिको मायामोह धेरै थियो । झन बाबा, आमा र आफन्त गुमाएका लक्ष्मीहरुलाई कर्म दिन पाउनु मेरो अहोभाग्य हो ।’

सानोघरका छोरीलाई अनौपचारिक र औपचारिक शिक्षामा जोड दिइनुका साथै सीपमूलक तालिममा समेत पोख्त बनाइएको उनी बताउँछिन् । यहाँ छोरीलाई, टेकवान्डो, सिलाइकटाइ, गुडिया बनाउने, अचार बनाउने, पेन्टिङ गर्नेलगायतका व्यवसायिक तालिम दिइएको र अचार बिक्री समेत गर्ने गरिएको उनको भनाइ छ ।
बालगृहमा ब्राह्मण, क्षेत्री, चेपाङ्गलगायत विभिन्न समुदायका छोरीहरु राखिएको छ । यसअघि सानो घरमा आश्रय लिएकी चेपाङ समुदायकी मरियम प्रजा टेकवान्डोबाट राष्ट्रिय पुरस्कृत भएकी थिइन् ।
बालगृहमा आश्रय लिएका बालिकाहरु हुर्किएपछि आफन्त आएर उच्च शिक्षा दिने भन्दै लैजाने र बालविवाह गरिदिने भन्दै दुखेसो पोखिन् । उनी भन्छिन्, ‘छोरीहरु हुर्किएर अब्बल हुन नपाउँदै आफन्त आएर पढाउने आश्वासन दिएर लग्ने र बालविवाह गराइदिँदा छोरीहरु समस्यामा पर्ने गरेका छन् ।’ कोही आफन्तले जिद्दि गरेर लैजाँदा विशेष गरी चेपाङ्ग समुदायका बालिका समस्यामा परेको भन्दै बालिकाहरु पूर्णरुपमा अब्बल भएपछि मात्रै आफन्तको जिम्मा लगाउने उनी बताउँछिन् ।

बालगृहका लागि उनले अहिलेसम्म स्थानीय निकायको सहयोग नपाएको श्रेष्ठले गुनासो गरेकी छन् । सानोघरलाई पछिल्लो समय विभिन्न संघसंस्था र विदेशमा रहेका नेपालीले सहयोग गर्ने गरेको उनि बताउँछिन्। मासिक एक लाख खर्च हुने अवस्थामा सरकारका विभिन्न निकायबाट सहयोगको उनले गरेकी छन्। भरतपुर महानगर तथा भूमि आयोगमा सहयोगका लागि पहल गर्दासमेत वेवास्ता गरिएको उनी बताउँछिन् । बालगृहमा भरतपुर महानगरको ध्यान जान सके थप व्यवस्थित हुन सक्ने उनको भनाइ छ ।

