नवलपुर । गए राती दाउन्नेको डाँडाबाट ट्रक खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन्
। भारतको हैदरावाद जिल्ला सिद्रापुर घर भएका चालक ३२ वर्षीय ईरसाद मुल्लिम, सहचालक उत्तर प्रदेश घर भएका २७ वर्षीय कल्लु खान र भारतको सुनौली नगरपालिका–१३ जुगौली महाराजगञ्ज घर भएका ३८ वर्षीय अब्दुल समद रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार पूर्वपश्चिम राजमार्गबाट पूर्वतर्फ जाँदै गरेको भारतीय ट्रक गएराति ९ः३० बजे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ को सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको थियो । प्रहरीले जनाएको छ । यूके१७सीए २०८१ नम्बरको केरा बोकेको भारतीय ट्रक आफै अनियन्त्रित भएर राजमार्गबाट तल खस्दा तीन जना गम्भीर घाइते भएका कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक हिक्मतबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेको उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको गिरीले बताए । शरिरका विभिन्न स्थानमा चोट लागेकाले उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।