काठमाडौं । यातायात व्यवसायीले आइतबार सरकालाई चाबी हस्तान्तरण गरेका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् ।
कोराना महामारी प्रभावले झन्डै चार लाख यातायात व्यवसायी, त्यसमा आश्रित नौ लाख स्वरोजगार व्यवसायी तथा मजदुर एवं पर्यटन यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे महासंघले विभिन्न निकायमा मागपत्र बुझाए पनि कुनै निकबायबाट सम्बोधन नहुँदा चाबी बुझाउनुपरेको महासंघले जनाएको छ ।
“प्रधानमन्त्री तथा मनिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, सबै प्रदेश मन्त्रालय, साथै नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभागलगायतका यातायातसँग सरोकार भएका सम्बन्धित निकायहरुमा यातायात क्षेत्रका समस्या समाधानका लागि पटक–पटक यस महासंघमार्फत लिखित रुपमा मागपत्र पेस गरिएकोमा सरकारका कुनै पनि निकायहरुबाट समस्या समाधान भएन,” महासंघले चाबी बुझाउँदै भनेको छ । कोरोनाबाट प्रभावित यातायात व्यवसायीले कुनै राहत सुविधा पाउने अवस्था नबनेको उनीहरुले बताएका छन् ।
यातायात व्यवसायीको कर्जाको ब्याज पुँजीकरण गरी ६ महिना ब्याज मात्रै तिर्न र आधार ब्याजदरमै कर्जा दिनुपर्ने, यातायात व्यवसायीलाई कारोनाविरुद्धको खोप दिनुपर्ने, भाडादर समायोजन गर्नुपर्ने तथा गाडीको अवधि १० वर्ष थप गर्नुपर्नेलगायत माग राख्दै व्यवसायीले आन्दोलन गरिरहेका छन् ।
लामो समयको बन्दपश्चात् यातायात सञ्चालन गर्ने सरकारको निर्णय भए पनि सार्वजनिक यातायातजस्तो जोखिम क्षेत्रमा काम गर्ने सबै यातायात मजदुर लगायत यातायातमा कार्यरत कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था समेत नभएको महासंघले जनाएको छ ।
साथै, २०६९ सालदेखि वैज्ञानिक भाडा नीतिअनुसार आन्तरिक प्रदेशभित्रको लागि भाडा समायोजन हुने नसकेकोले वैज्ञानिक भाडा नीतिअनुसार भाडादर समायोजन गर्नुपर्ने माग महासंघले गरेको छ ।
“कोरोनाको कारणले सवारीसाधन सञ्चालन हुन नसकी ग्यारेजमा थन्क्याउँदा त्यसको मर्मत तथा सरकारी कर, राजस्व, २० वर्षे सवारीको समस्या सम्बोधन हुन सकेको छैन, बैंक, वित्तीय संस्थाबाट व्यवसायीले झेल्नु परेका समस्या, बिमा, सडक ऐन, कानुनलगायतका समस्याहरु समाधान गर्नेतर्फ चासो नदेखाउँदा व्यवसायीहरुको करिब १० खर्बको लगानी जोखिममा परेको छ ।” सार्वजनिक यातायात केन्द्रीय महासंघले जिल्ला प्रशासन कार्यलयमा चाबी बुझाउँदै भनेको छ ।