चितवन । चितवनमा साउनको पहिलो सातासम्म ९२ प्रतिशत रोपाई सकिएको छ । भने ८ प्रतिशत धान रोपाई गर्न बांँकी रहेको छ ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा १० प्रतिशत र माडी नगरपालिकामा ५ प्रतिशत रोपाई गर्न बांँकी रहेको छ । पूर्वी चितवनका स्थानिय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगरनगरपालिका कालीका, नगरपालिका र इच्छाकामना गाउंँपालिकामा सबै रोपाई सकिएको कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।
उनका अनुसार चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाको धानयोग्य जमीन झण्डै आधा क्षेत्रफल ओगटेको छ । ‘भरतपुरकोे अन्य स्थानमा रोपाईं सकिएपनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने गर्छन ढकालले भने, सिंचाईको सुविधापनि त्यतातिर ढिलानै हुन्छ ।’ पूर्वी चितवनका अधिकांश क्षेत्रतिर चैते धान थन्क्याएर लगत्तै बर्खे धान लगाईने भएकोले चांँडो रोपाई शुरु हुने र चांँडैनै सकिने उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले चितवनमा अधिकांश पालिकामा धान रोपाई सकिएको र साउनको दोस्रो सातासम्म चितवनका सबै क्षेत्रमा धान रोपाई सकिने जानकारी दिए । ‘सिंचाई,बोरिङ्ग, र नियमित बर्षा भएकोले पनि धान रोपाई समयमै सकिन्छ पौडेलले भने, अहिले मल, बीउको अभाव पनि त्यस्तो देखिएन ।’ पूर्वी चितवनको रत्ननगरपालिकाको केही स्थानहरुमा बाढीले धान बगाएको कारण किसानले छरुवा धान लगाएको पौडेलले बताए । यो बर्ष मौसम अनुकुल र रोग किराको प्रकोप नदेखिएकाले उत्पादन पनि राम्रो हुने उनको भनाई छ ।
चितवनको खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२.७ प्रतिशत जमिनमा सहजै सिंचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने बर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलब ५२ रहेको छ ।
मकवानपुर जिल्ला समेत हेर्दै आएको ज्ञानकेन्द्रले त्यहांँका १० वटा स्थानीय तहमा ९५ प्रतिशत धान रोपाई सकिएको जानकारी दिएको छ ।