दाङ । चितुवाको छालासहित दाङबाट दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.९ का ३२ वर्षीय रामबहादुर दमाई रहेका छन् ।
उनीहरूलाई बुधबार बिहान साढे तीन बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीमा चेकजाँचका क्रममा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।
गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
“गजराज सिमेन्ट लेखेको बोरा भित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई व्यक्ति हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,” डीएसपी रिजालले भने ।
उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्मको ५ फिट २ इञ्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।
पछिल्लो समय वन्य जन्तुको छाला ओसार पसारमा संलग्न तथा लागु औषधका कारोबारीहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।