जनकपुरधाम । कमला खोलाको बाँध भत्किएको छ । खोलामा आएको बाढीले धनुषातर्फको बाँध भत्किएको हो ।
बाढीले सबैला नगरपालिका–१३, किरतपुरनजिक बाँध भत्काएर खेत कटान सुरु गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जानकारी दिए ।
कटान नियन्त्रणको प्रयास गरिरहेको उनले बताए । “नियन्त्रणको प्रयास जारी छ । अझै भइसकेको छैन,” उनले भने, “खोलामा पानीको बेग धेरै छ । १७ फिट तलसम्म पानी छ ।”
बाँध करिब ३०० मिटर भत्किएको छ । बगर हुँदै धान खेततर्फ पानी गइरहेको छ । केही समयमा धान खेतमै पानी पुग्ने उनको भनाइ छ । बाँध बचाउन नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो हालेर पानीलाई खोलातर्फ डोर्याउने प्रयास भइरहेको छ ।
नियन्त्रणको प्रयास सफल नभए गाउँमै पानी पस्ने जोखिम रहेको छ । करिब ६०० मिटर बाँध अझै जोखिममा रहेको उनले बताए । सबैला नगरपालिकाकै पर्टेबानजिकको बाँध पनि भत्किने अवस्थामा रहेको उनले जानकारी दिए ।
बाढीका कारण हुन सक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध भत्किएपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । स्थानीय क्रसित भएका छन् ।
बाढीले धनुषाको सबैला नगरपालिका, सहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।