चितवन । चितवनबाटै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरण गर्न ब्रेक लागेको छ । सर्वोच्च अदालतको आदेशसँग चितवनबाट सवारी साधनको लाइसेन्स वितरण गर्न ब्रेक लागेको हो ।
‘लाइसेन्स वितरण गर्नको लागि सबै प्रक्रिया पूरा भएको थियो, आज बिहान ११ बजे आर्थिक प्रस्ताव खोल्ने तयारी पनि भएको थियो । सर्वोच्चले अर्को आदेश नहुँदासम्म रोक्नु भनेपछि हामीले रोक्यौँ’ यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलले भने, ‘आज १० बजे सर्वोच्च अदालतबाट सबै काम रोक्नु भनेर आदेश आएपछि सबै काम रोकिएको छ ।’ उनले सर्वोच्चमा परेको मुद्दाको अन्तिम फैसला नआउँदासम्म लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउन सकेनौँ ।’
ट्रायल सेन्टर छनौट प्रक्रियामा असन्तुष्ट जनाउँदै चितवन ड्राइभिङ स्कूल प्रालिले सर्वेच्चमा असार १९ गते मुद्दा दर्ता गरेको थियो । मुद्दाका कारण तत्काल कुनै प्रक्रिया अघि नबढाउन भनेपछि यातायात कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण प्रक्रिया रोकेको हो । प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको हो । दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका थिए । आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोल्ने तयारी गर्दागर्दै असन्तुष्ट समूहले हालेको रिटका कारण सर्वोच्चबाट रोक्न आदेश आएको बताइएको छ ।

