नवलपरासी । सडकमा अत्यधिक धुलो उडाउन थालेपछि जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीले टिप्परहरुको साइलेन्सर काट्ने अभियान सञ्चालन गरेको छ ।
धुलोका कारण अन्य सवारीसाधनको आवतजावत र पैदलयात्रीलाई सास्ती भएको थियो । धुलोका कारण सडक नदेखिँदा अन्य सवारीसाधनको दुर्घटना बढ्ने र सञ्चालनमा समेत कठिनाइ भएपछि मंगलबारदेखि अभियान सुरू गरिएको अस्थायी ट्राफिक पोस्ट दाउन्नेका सहायक निरीक्षक (सई) मीनबहादुर कुँवरले बताए । यो अभियान दाउन्ने क्षेत्रमा पर्ने राजमार्गबाट सुरू गरिएको हो ।
अधिकांश टिप्परहरुको साइलेन्सर भुइँतिर फर्किएको छ । मर्मत हुँदै गरेका सडकहरु र अन्य कच्ची सडकमा सञ्चालन हुने टिप्परहरुको लोडका कारण पिकअप बढी लिनुपर्ने र त्यसको हावाले अत्यधिक धुलो उडाएपछि साइलेन्सर काट्न थालिएको कुँवरले बताए ।
बुटवल–नारायणगढ राजमार्ग अहिले मर्मत हुँदैछ । सोही राजमार्गको दाउन्ने क्षेत्र पहाडी मार्गमा पर्ने र पिकअप बढी लिनुपर्ने भएकाले त्यस क्षेत्रमा अत्यधिक धुलो उड्ने गरेको छ । धुलोका कारण त्यस क्षेत्रमा रात परेसरह सवारीसाधनले दिउँसै लाइट बालेर हिँड्नुपर्ने अवस्था छ ।
नदीजन्य पदार्थ बोकेका टिप्परहरु सोही राजमार्ग भएर चल्ने गरेका छन् । ‘भुइँतिर फकाईएका टिप्परहरुको साइलेन्सर काटिएको र छोटा तथा माथि उठेका साइलेन्सरहरुलाई फलामको पाता जोडेर माथि फर्काइएको छ’, कुँवरले भने । १÷२ वटाबाहेक सबै टिप्परको भुइँतिरै साइलेन्सर जडान छ । अन्य ट्रकहरुको भने अधिकांश साइलेन्सर माथि नै रहेकोले समस्या नभएको उनको भनाइ छ । यो अभियान निरन्तर चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।