चितवन । यातायात व्यवस्था सेवा कार्यालय, चितवनले आर्थिक बर्ष ०७७,०७८ मा करीब ५७ करोड राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक बर्षमा ५६ करोड ९५ लाख ७४ हजार दुई रुपैयांँ संकलन गरेको हो । अघिल्लो आर्थिक बर्ष ०७६,०७७ मा कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार २०६ रुपैयांँ संकलन गरेको थियो ।
निशेधाज्ञाका कारण कार्यालयले ६० करोड राजश्व संकलन गर्ने अपेक्षा गरेपनि कर संकलन सन्तोषजनक रहेको बताएको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना ,सवारीसाधन कर र सवारी दस्तुर शिर्षकबाट कर संकलन गर्दै आएको छ ।
जसअनुसार अघिल्लो आर्थिक बर्षमा कार्यालयले सबैभन्दा बढी सवारी साधन करबाट ४९ करोड ८६ लाख ७४ हजार २९४ रुपैयांँ राजश्व संकलन गरेको छ भने सबै भन्दाकम प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ३९ हजार ८६५ रुपैयांँ कर संकलन गरेको छ ।
यस्तै यातायात क्षेत्रको आम्दानीबाट ५ करोड १० लाख ८७ हजार ९६२ रुपैयांँ राजश्व संकलन गरेको छ भने सवारी दस्तुरबाट १ करोड ९१ लाख ७१ हजार ८८१ रुपैयांँया संकलन गरेको जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले निशेधाज्ञाका कारण बैशाख १६ देखि असार १६ सम्म दुई महिना कार्यालय बन्द भएकोले कर संकलन अपेक्षित रुपमा नभएको बताए । ‘दुईमहिना त शुन्य संकलननै भयो । कतिपय जिल्लामा गतबर्षबाटनै सेवा कार्यालय पनि स्थापना भए, उनले भने, जुन प्रदेशमा सवारीसाधन दर्ता भयो त्यहींमात्र कर तिनुपर्ने नियम लागु भयो ।
चितवन देशकै केन्द्र विन्दुमा भएपनि नवलपुरको कावासोती, तनहुंँको आंँबुखैरहनी लगायतका स्थानहरुमा सेवा कार्यालय शुरु भएकोले राजश्व संकलन नबढेको पौडेलले बताए । गतबर्षको अन्तिम महिनाबाट सवारीसाधन दर्ता गर्न पाउने अनुमति पाएपनि त्यो काम शुरु गर्न नसक्दा पनि राजश्व संकलनमा असर परेको उनको भनाई छ ।

