चितवन । स्थानीय जंगलमा मृत अवस्थामा भेटिएकी राप्ती नगरपालिका वडा नम्बर ३ कि सुजिता भण्डारीको शब परिवारले बुझेका छन् । स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरे सम्म शब नबुझ्ने अडान लिएपनि आज शब बुझेका हुन् । जिल्ला प्रहरी कार्यालय , चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले परिवारले आज शब बुझेको जानकारी दिए । तर किन शब बुझे भन्ने बिषयमा भने थाहा नभएको उनले बताए ।
शबपरीक्षणको आवश्यक शबबाट हुने सबै प्रक्रिया भइसकेकोले शब बुझेको हुनुपर्ने उनको भनाई छ ।
‘शब परीक्षण , भिसेरा र सबै प्रक्रिया पुगेर ल्याबमा लगेपछि , रिपोर्टको नतिजा बाहेक अरु बांँकी नहोला । ’प्रहरी नायब उपरीक्षक अधिकारीले भने ।
स्थानीय राजु सेढाईले शब लिन गएको मात्र थाहा पाएको बताए । ‘हामीले हत्यारा सार्वजनिक नभएसम्म शब नबुझौं भनेका थियौं सेढाईले भने, उहांँकै परिवारकै दुईजना हिजो शब लिन जाने र देवघाटमा जलाइने भन्ने मात्र सुनेका हौं ।’ शुरुवाती क्षणमा परिवारले स्थानीयहरुको साथ सहयोग मागेपनि पछिल्ला दिनहरुमा सुजिताको परिवारले कुनै सहयोग नमागेको सेंढाईको भनाई छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भनेपनि हालसम्म खासै केही उपलब्धी हासिल गर्न सकेको छैन ।
गत असार ११ गते तरकारी लिन जान्छु भनेर घरबाट निस्किएकी सुजिता असार २० गते घर नजिकैको सामुदायिक वनमा कुहिन लागेको अबस्थामा मृत भेटिएकी थिइन ।

