काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १९ करोड रुपैयाँ बढी रकमको चेकसहित एक ‘मिटर ब्याजी’लाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको छ ।
दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौं बस्ने हेमरा गुभाजुले लिएको ऋणमा उनले चर्को ‘मिटर ब्याज’ लगाएका थिए । प्रकाशबाट पटक–पटक गरी चार करोड १६ लाख रकमको चेक र हेमराज गुभाजुबाट चार करोड १४ लाखको चेक लिई रकम दिन मानसिक दबाब दिँदै आएको खुलेको छ ।
उनले पीडितलाई त्रासमा पारी बाहिर हिँड्डुल र घुमफिर गर्नसमेत बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरिएको छ ।
प्रतिवादीले अन्य व्यक्तिसमेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको छ । रासस