काठमाडौं । धादिङमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भएका छन् । बेनीघाट रोराङ गाउँपालिका–३, शीतलबजारनजिकै भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।
बेनीघाटबाट गजुरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०१७ प ८३ ४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०२–०२२ प ०७ २० नम्बरको मोटरसाइकल शनिबार साँझ करिब ८ बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ८३ ४३ नम्बरको मोटरसाइकलका चालक स्थानीय १७ वर्षीय अनुज कँडेल, पछाडि सवार १५ वर्षीय समर्पण रावल, अर्का मोटरसाइकल चालक धादिङकै गजुरी गाउँपालिका–२, मलेखुका १६ वर्षीय उमित सहनी र पछाडि सवार १६ वर्षीय सौगात कँडेल घाइते भएका हुन् ।
घाइतेमध्ये रावलको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं ल्याइएको छ । अरु तीनजनाको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।