विराटनगर । मोरङमा मेसिन गन देखाएर सुनचाँदी पसल लुट्ने प्रयास गरिएको छ । सर्ट मेसिन गन (एसएमजी) राइफल देखाएर लुटपाटको प्रयास गरिएको हो ।
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर–१०, त्रिवेणीचोकको शिव पाञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो तीनजनाको समूह प्रवेश गरेर लुटपाटको प्रयास गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार एकजना भित्र पसेर हतियार देखाएर लुटपाट गर्न खोजेका थिए ।
लगत्तै स्थानीयको भिड जम्मा हुँदा लुटपाटको योजना विफल बनेपछि उनीहरु हतियार देखाउँदै भागेका थिए । प्रहरीले सुन पसलको सीसीटीभी फुटेजको अनुसन्धान भइरहेको र लुटपाटमा संलग्नको पहिचान गर्ने काम सुरु गरिएको जनाएको छ ।
एकजनाले पेस्तोल र अर्को व्यक्तिले एलएमजी हतियार देखाएको पसलका सञ्चालक खगेन्द्र थापालाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले लुटपाट गर्न आएका व्यक्तिहरु नम्बरप्लेट छोपेर मोटरसाइकलमा आएको अनुसन्धानका क्रममा पत्ता लागेको बताए ।