चितवन । आन्तरिक राजश्व कार्यालय,भरतपुरले आर्थिक बर्ष ०७७,०७८ मा १६ अर्ब ६१ करोड ५० लाख ५५ हजार रुपैयांँ संकलन गरेको छ । विभागले उक्त बर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार को लक्ष्य दिएकोमा १२ प्रतिशत कम संकलन भई ८७ दशमलव ७४ प्रतिशत राजश्व असुली गरेको हो ।
कार्यालयले आयकर, ब्याजकर, मुल्यअभिवृद्धि कर, बहालकर , अन्तःशुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर शिर्षकबाट राजश्व असुली गर्दै आएको छ । यी शिर्षकमध्ये आयकर, ब्याजकर र मुल्यअभिवृद्धि करबाट मात्रै लक्ष्य भन्दा बढी कर असुल गरेको छ भने अन्य शिर्षकमा लक्ष्य भन्दा कम राजश्व असुली भएको छ ।
जसअनुसार आयकर शिर्षकमा गतबर्ष २ अर्ब २१ करोड १८ लाख २३ हजार लक्ष्य दिएकोमा २ अर्ब ३३ करोड १९ लाख ९१ हजार संकलन गरेको छ । यस्तै ब्याजकर शिर्षकमा ३ करोड ६७ लाख ५६ हजार लक्ष्य दिएकोमा तेब्बरभन्दा बढी १२ करोड ७३ लाख ३१ हजार र मुल्य अभिवृद्धि कर शिर्षकमा १ अर्ब ७८ करोड ३५ लाख ६२ हजार लक्ष्य दिईएकोमा २ अर्ब ३१ करोड ८६ लाख ८४ हजार रुपैयांँ राजश्व असुली गरेको छ ।
यस्तै बांँकी अन्य कुनैपनि शिर्षकमा कार्यालयले राजश्व असुली लक्ष्य अनुसार संकलन गर्न सकेको छैन । सबैभन्दा बढी राजश्व संकलन गर्ने अन्तःशुल्क शिर्षकमा राजश्व संकलन लक्ष्य अनुसार नहुंँदा कुल राजश्व संकलनमा असर परेको हो । यो शिर्षकमा गतबर्ष १४ अर्ब ८० करोड ५० लाख ८७ हजार लक्ष्य दिएकोमा ११ अर्ब ७८ करोड ५८ लाख १६ हजार रुपैयांँ राजश्व संकलन गरेको छ । बहाल कर शिर्षकमा ६ करोड ३० लाख ७१ हजार लक्ष्य दिइएकोमा ४ करोड ६९ लाख ९५ हजार रुपैंया संकलन ,शिक्षा सेवा कर मा ६८ लाख ७७ हजार लक्ष्य दिईएकोमा २ लाख ८४ हजार रुपैयांँ संकलन र स्वास्थ्य सेवा कर शिर्षकमा ८७ लाख ५ हजार रुपैंया लक्ष्य लिईएकोमा ३९ लाख ५४ हजार रुपैंया राजश्व संकलन भएको छ ।
कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले यो बर्षको निशेधाज्ञामा अघिल्लो बर्षजस्तो कडा नभएकोले राजश्व संकलनमा खासै फरक नआएको बताए । ‘पर्यटनक्षेत्र बाहेक अन्य क्षेत्रबाट नियमित जस्तै कर उठेको छ उनले भने, हाम्रो मुख्य श्रोतनै अन्त शुल्क त्यसले गर्दा कुल राजश्वमा असुल परेको हो ।’ आयकर, मुल्यअभिवृद्धि र ब्याजकर शिर्षक अघिल्ला बर्षमा रहेका बक्यौता रकम यस बर्ष असुली भएकोले पनि लक्ष्य भन्दा बढी संकलन गरिएको उनको भनाई छ ।
उनका अनुसार अन्य शिर्षकका कर शिर्षक अघिल्ला बर्ष दिईएको लक्ष्य र संकलन अनुसार पछिल्ला बर्षहरुमा तय गरिने भएकोले लक्ष्य र असुलीको अनुपातमा धेरैनै फरक परेको हो । ‘बहालकर स्थानीय सरकारमा गएपछि हामीले व्यवसायिक बहालकर मात्र लिन पाउंँने भयौं , उनले भने , अन्य शिर्षकहरु भनेको आर्थिक गतिविधि , समय परिस्थिति अनुसार पनि भर पर्दछ ।’ शिक्षा सेवा कर शिर्षकमा बिदेश पढ्न जाने विद्यार्थी सटही गरेबापत बैंकबाट लिइने र स्वास्थ्य सेवा कर आन्तरिक राजश्व कार्यालयले खारेज गरिएकोले पनि यस शिर्षकको बांँकी बक्यौता मात्र असुली भएको हुंँदा कम राजश्व हुने गरेको नेपालले जानकारी दिए ।